माओवादीका निर्वाचित जनप्रतिनिधिहरु काठमाडौंमा भेला हुँदै, प्रचण्डले विशेष प्रशिक्षण दिने

नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिनेछन्।
पार्टीका शीर्ष नेता एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ। अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ।