बागमती प्रदेशको नीति तथा कार्यक्रम कर्मकाण्डी : प्रतिपक्ष

जनपत्र
१७ जेष्ठ २०७९, मंगलवार ०६:५६

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई प्रतिपक्षी दलहरुले ‘कर्मकाण्डी’को संज्ञा दिएका छन्।

सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा प्रस्तुत गरेको प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले नयाँ योजना समेट्न नसकेको भन्दै प्रतिपक्षी दलहरुले ‘कर्मकाण्डी’को संज्ञा दिएका हुन्।

प्रदेश प्रमुख शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेपछि प्रतिक्रिया दिँदै प्रतिपक्षी दलका सांसदहरुले प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका छन्।

उनीहरुले सरकार पुरानो योजना र कार्यक्रममा नै रमाएको प्रतिक्रिया दिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मुख्य सचेतक दीपक निरौलाले प्रदेश सरकारले पुरानै कार्यक्रमलाई लिपिवद्ध गरेको टिप्पणी गरे। नयाँ जोश, जाँगर र उत्साह बोकेका कार्यक्रम ल्याउन नसकेर प्रदेश सरकारले पुरानै कार्यक्रमलाई सारेको उनको भनाई छ।

‘विगतकै कुराहरुलाई निरन्तरता दिन शब्दहरु तलमाथि गर्ने र केही नयाँ शब्दहरु थप्ने काम मात्रै भएका छन्। सरकारले नयाँपन र उत्साहलाई देखाउन सकेन’, उनले भने। निरौलाले आफूहरुको नेतृत्वमा चालू आवमा ल्याइएको धेरै कार्यक्रमलाई सरकारले निरन्तरता दिएकोमा खुशी लागेको भएपनि नयाँ योजना समेट्न भने सरकार चुकेको जिकिर गरे।

अर्को प्रतिपक्षी दल विवेकशील साझाका रमेश पौड्यालले प्रदेश सरकारले कर्मकाण्डी ढंगले नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरे। नयाँ कुरा समेट्न नसकेको सरकारले पराम्परागत ढंगले पुरानो कुरालाई निरन्तरता दिएको उनको भनाई छ। ‘नयाँ कुरा केही आएको छ कि भनेर मैले ध्यानपूर्वक सबै सुनेँ। तर, केही कतै नयाँ कुरा भेटिएन। अघिल्ला वर्षहरुमा आएको कुराहरुलाईलाई नै निरन्तरता दिइएको छ’, पौड्यालले भने।

मन्त्रालयहरुको संख्या घटाएर प्रदेश सरकारको खर्च कटौती गर्ने, सुशासन सम्बन्धी कुरा र केही नयाँ कामहरु यसरी गर्छौ भन्ने खालका योजनाहरु पनि नआएको उनले बताए।

नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्रराज गोसाईंले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल हुने कुरामा द्विविधा नै नरहेको बताए। सरकारले नयाँ कार्यक्रमलाई समेट्न नसक्दा यसअघिको जस्तै यो नीति तथा कार्यक्रम पनि असफल हुने उनको टिप्पणी थियो। ‘नयाँपन केही पनि दिन सकेन। ४ वर्षदेखि ल्याइएको नीति तथा कार्यक्रम जसरी असफल भयो, यो पनि त्यसैगरी असफल हुनेमा कुनै द्विविधा छैन। कुनै नयाँ कुरा नभएको यो नीति तथा कार्यक्रम फलदायी होला भन्ने पनि मलाई लाग्दैन’, थाहाखबरसँग कुरा गर्दै गोसाईंले भने।

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सबैलाई छोएको बताए। उनले नीति तथा कार्यक्रमले प्रदेशको गौरव बढाउने समेत टिप्पणी गरे। उनले बालबालिका र वृद्दलाई समेत नीति तथा कार्यक्रमले छोएको दाबी गरे। प्रदेश चक्रपथ बनाउनेदेखि अन्य विविध योजनाहरुले प्रदेशको गौरवलाई नै बढाउने नेता बानियाँले विश्वास व्यक्त गरे। उनले सरकारले गरिबमुखी र काममुखीलाई सम्बोधन गर्दै परिणाममुखी नीति तथा कार्यक्रम ल्याएको दोहोर्‍याए।  थाहा खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*