बागमती प्रदेशसभा बैठकः सत्ता पक्ष र प्रतिपक्ष एक अर्कालाई आरोप लगाउनमै व्यस्त
हेटौंडा । बागमती प्रदेशसभा बैठक आज पनि चलिरहेको छ । अबको समय भनेको जनताको मन छुने बजेट ल्याउने भन्दा पनि सत्ता पक्ष र प्रतिपक्ष एक अर्कालाई आरोप लगाउनमै व्यस्त रहेका छन् । प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै प्रदेशसभाका सदस्यहरुले एक अर्कालाई आरोप प्रत्यारोप लगाउनमा बडि समय खर्च गरेका छन् ।
प्रतिपक्षी दल नेकपा एमालेले सरकारमा रहेका दलहरुले गरेको कामका विषयमा औला ठड्याउने र सत्तापक्ष दलहरुले प्रतिपक्षी दल एमालेका नेताहरुलाई ब्यङग्य हान्ने काम भइरहेको छ । असारमा ल्याउने बजेट सरकारले कस्तो ल्याउनुपर्छ कस्ता विषयलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरामा भन्दा पनि अरु विषयमा दलहका सांसदहरु केन्द्रीत भएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले हालै सम्पन्न स्थानीय निर्वाचनलाई प्रभावित पार्न बागमती प्रदेश सरकारले २३ सय टुक्रे योजना ऐन विपरित बाँढेको बताएका छन् ।
शनिबार बागमती प्रदेश सभामा बोल्दै उनले संसद हुँदा हुँदै चल्ने सक्ने अवस्था हुँदा हुँदै पनि प्रदेश सरकारले संसदलाई छलेर निर्वाचन प्रभावित पार्न २३ सय योजना ल्याएको आरोप लगाए । उनले २३ सय योजना बाढ्दा पनि गठबन्धन प्रदेश सरकारले चालु वर्षको पुजिगत खर्च २८ प्रतिशत भन्दा माथि जान नसकेको बताए ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले स्थानीय निर्वाचनमा गठबन्धन गर्नुको उदेश्य सत्ता हत्याउन नभई प्राप्त उप्लब्धी जोगाउनु रहेको बताएका छन् ।
शनिबार बागमती प्रदेश सभाको बैठकमा बोदै प्रदेश सभा सदस्य पुलामीले प्रदेश सभामा हालै सम्पनन स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको टिका टिप्पणी धेरै भएको भन्दै उनले प्राप्त उप्लब्धी जोगाउन गठबन्धन भएको दाबी गरे ।
बागमती प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीका नेता विराजभक्त श्रेष्ठले ‘कमरेड’ शब्द बदनाम हुँदै गएको बताएका छन् । ‘अघि कमरेड भन्ने कुरा आयो । अहिले बजारमा कमरेड भन्ने शब्द यस्तो बदनाम भएको छ कि, अस्ती म चुनावमा घुम्दै जाँदा एक जना कमरेडलाई कमरेड के छ भनेको उहाँले कमरेड चाँही नभनिदिनुस् बाबु । आजकाल यो कमरेड शब्द सुन्दा गालि गर्या जस्तो लाग्छ भन्नुभयो ।’ उनले भने ।
बागमती प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीकी नेतृ शोभा शाक्यले प्रदेश सरकारलाई टर्च लाईट बालेर खोज्नुपर्ने अवस्था आएको भन्दै टिप्पणी गरेकी छिन् । उनले जनताले सरकारको महशुससमेत गर्न नसकेको बताइन् । नेतृ शाक्यले सरकारले जनताको जीवनलाई सहजता प्रदान गर्नुपर्ने भएपनि त्यसतर्फ काम गर्न नसकेको बताइन् ।