समता सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन पक्राउ

बौद्धस्थित समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नीसहित तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। कर्मचारी एक महिलाले आत्महत्या गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले सञ्जेल पत्नीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
स्रोतका अनुसार उत्तमकी पत्नी कला सञ्जेल, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
तिनै जनालाई महानगरीय प्रहरी बृत्त गौशालामा राखी अनुसन्धान थालिएको प्रहरी स्रोतले बतायो। ‘कर्मचारीको आत्महत्या विषयमा केही अनुसन्धान गर्नुपर्ने देखिएकाले तीन जनालाई नियन्त्रणमा लिइएको हो,’ महानगरीय प्रहरी परिसर स्रोतले भन्यो। मंगलबार नियन्त्रणमा लिइएका समता अस्पतालका सञ्चालक उत्तमलाई भने प्रहरीले छोडिसकेको छ।
समता अस्पतालमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले सोमबार राति अस्पतालभित्र पासो लगाएर आत्महत्या गरेकी थिइन्।
क्लिनरको काम गर्ने उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
सोही विषयमा आफन्तले आन्दोलन थालेपछि सञ्जेललाई सुरक्षाको कारण देखाई मंगलबार नियन्त्रणमा लिइएको थियो। उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि आफन्तले शव बुझेका थिए। प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिसकेको छ।
शव परीक्षणको यथार्थ विवरण नआउँदै सञ्जेल पत्नीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूसँग सोधपुछ भइरहेको प्रहरी स्रोतले बतायो।