कृषि कर्ममा रमाउनेहरुको अनुभव : जहाँ सन्तोष, त्यहाँ सुख
काठमाण्डौ – बाग्लुङ नगरपालिका वडा नम्बर २ का कृष्णप्रसाद पौडेललाई अहिले गाउँभरिकाले उत्कृष्ट पशुपालक भनेर चिन्छन् । उहाँ केही महिनाअघि मात्रै बाग्लुङ नगरपालिकाबाट उत्कृष्ट पशुपालकका रुपमा सम्मानित हुनुभएको हो । सम्मानित भएपछिको चर्चाले गाउँमा उहाँलाई उत्कृष्ट पशुपालकका रुपमा चिनिन गाह्रो भएन । सम्मानित भएर प्रमाणपत्र थापेका र दोसल्ला ओढेका थुप्रै पल छन् पौडेलसँग ।
नगरपालिकाबाट पाएको सम्मानभन्दा अघि उहाँ बाग्लुङको दुग्ध विकास बोर्ड र पशुसेवा कार्यालयबाट उत्कृष्ट कृषकका रुपमा पुरस्कृत हुनुभएको थियो । यसअघि २०७१ सालमा त झन् उहाँले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने अवसर पाउनु भएको थियो।
त्यो बेला कृष्णप्रसादले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०७१’ बाट पहिलो पटक पुरस्कृत बन्ने मौका पाउनु भएको हो । उहाँ विगत सम्झिँदै भन्नुहुन्छ, ‘पुरस्कार लिँदै गर्दाको फोटो लिएको भए आजका लागि ऐतिहासिक सम्झनाको याद हुने थिएछ, तर त्यो बेला लिनुपर्छ भन्ने हेक्का नै भएन ।’
‘श्रीकृष्ण गाईभैँसी फार्म’ का सञ्चालक पुरस्कृत पौडेल नगदसहित सम्मानको प्रमाणपत्र थाप्दा खुशीले गद्गद् हुनुभएको थियो । किनभने गाईभैँसी फार्म सुरु गरेको ११ वर्षपछि उहाँ पहिलो पटक सम्मानित हुनु भएको थियो । उहाँ हास्दै भन्नुहुन्छ, ‘मैले निरन्तर गरिरहेको मेरो मेहनतलाई कसैले अवलोकन गरिरहेको छ भन्ने मैले कहिल्यै सोचिनँ ।’ पुरस्कृत भएपछि बल्ल उहाँलाई महसुस भयो, हामी जस्ता किसानका हितमा सोचिदिने सरकार पनि रहेछन् है भनेर।
पुरस्कृत बन्नु, सबैका सामु उत्कृष्ट पशुपालकका रुपमा चिनिनु भनेको थोरै दुःखले आर्जन गर्न सक्ने सफलता पनि त होइन ! पुरस्कार थापिरहने उहाँको हातका बेग्लै छन् सङ्घर्षका कथा । जुन कथा आफूले खाइरहेको सरकारी जागिर छोडेर भारत पुग्नुपर्ने बाध्यात्मक परिस्थितिबाट सुरु हुन्छ ।
सरकारी जागिरभन्दा गाईफार्म सञ्चालनमा बढी सन्तुष्टि
२३ वर्ष अघिसम्म उहाँ गाविस सचिवको रुपमा सरकारी जागिर गर्नुहुन्थ्यो । मुस्ताङमा तीन वर्ष गाविस सचिव भएर काम गर्नु भयो । २०५५ साल द्वन्द्वकालको समयमा काम गर्न गाह्रो त थियो नै पाएको तलबले परिवार धान्न पनि हम्मे–हम्मे पर्थ्याे ।
सरकारी जागिरको पैसाले घरखर्च चलाउनै गाह्रो भएपछि उहाँ परिवार नै लिएर भारत जानु भयो । भारतमा पाँच वर्ष दुःख गर्नु भयो । भारत बसाइँले जति दुःख गरे पनि आफ्नै देशमा गर्नुपर्छ भन्ने ज्ञान भएपछि उहाँ नेपाल आउनु भयो, र गाईभैँसी फार्म सुरु गर्नु भयो । पौडेलले २०६१ सालदेखि गाईभैँसी फार्म सुरु गर्नु भएको हो ।