महानगर र उपमहानगरको उपमेयरमा एमाले धेरै

जनपत्र
१० जेष्ठ २०७९, मंगलवार १६:१५

काठमाडौं । सत्ता गठबन्धनले साझा उम्मेदवारी दिएपछि कुनैपनि महानगरको मेयर जित्न नसकेको नेकपा एमालेले उपमेयरमा भने बहुमत संख्या जित्ने भएको छ । पोखरा महानगरको अन्तिम नतिजा आउनु अघि नै मेयर र उपमेयरको नतिजा निश्चित भइसकेको छ ।

मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर बन्ने निश्चित भएको छ । एमालेका कृष्ण थापालाई हराउँदै उनी मेयर बन्ने भएका हुन् । तर उपमेयर भने एमालेकै मञ्जुदेवी गुरुङ निर्वाचित हुँदैछिन् ।

अन्तिम नतिजा आइसकेको विराटनगरमा नेपाली कांग्रेसका नागेश कोइराला मेयर निर्वाचित भए । ३० हजार १७० मत ल्याउँदै उनले एमालेका सागर थापा (२१,४५५ मत) लाई पराजित गरे ।

तर उपमेयरमा भने गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवलाई झण्डै नौ हजार अन्तरले पराजित गर्दै एमालेकी शिल्पा कार्की विजयी भइन् । कार्कीले २५ हजार ६८० मत ल्याउँदा यादवले १४ हजार २९१ मत मात्रै पाइन् ।

काठमाडौं महानगरमा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरले अग्रता लिएकी छन् । डंगोलले ५२ हजार ८०९ मत ल्याउँदा निकतम प्रतिश्पर्धी रामेश्वर श्रेष्ठले १७ हजार ८८४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता श्रेष्ठ गठबन्धनका नेता हुन् ।

मत गणना अब धेरै बाँकी नरहेकाले सुनिता जित नजिक छन् । मेयरमा भने गैरदलीय उम्मेदवारी दिएका बालेन्द्र साहको अग्रता छ । उनले ४९ हजार ३५८ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवारी बनेकी कांग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार ०६९ मत पाएकी छन् । एमालेका केशव स्थापित भने २९ हजार २४८ मत सहित तेस्रो स्थानमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*