वीरगञ्जवासीकाे दैनिकीसँग जाेडिएका समस्या समाधान गर्छाैँ : नवनिर्वाचित मेयर सिंह

पर्सा – वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जवासीकाे दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।
आज मङ्गलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले वीरगञ्जवासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो । उहाँले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरूसँग बसेर छलफल गरी आवश्यक काम गर्ने बताउनुभयो ।
मेयर सिंहले वीरगञ्जमा सरसफाइको चुनौती रहेको उल्लेख गर्दै वर्षाकाे समयमा पानी जम्ने समस्या समाधान गरिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘वीरगञ्जवासीका दैनिकीसँग जोडिएका समस्याहरूलाई हामी निदान गर्छाैँ । त्यसपछि करको विषयमा, स्वास्थ्य, शिक्षाको विषयमा अगाडि बढ्छौँ ।’
जनता समाजवादी पार्टीका नेता सिंहले सत्तारूढ गठबन्धनको तर्फबाट विजय हासिल गर्नुभएको हो । नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार एवम् निवर्तमान मेयर विजय सरावगीलाइ २२ हजार पाँच सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । वैशाख ३० गतेको मतदानमा महानगरमा ९३ हजार सात सय ८२ मत खसेको थियो । मेयरमा विजयी राजेशमानले ४६ हजार दुई सय १५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार ६ सय ७१ मत पाउनुभएको छ । यस्तै मेयरमै राप्रपाका उम्मेदवार गिरीश गिरीले तीन हजार तीन सय १३ मत पाउनुभएको छ ।
महानगरको उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार आलम उपमेयरमा निर्वाचित हुनुभएको हो । उपमेयरमा विजयी आलमले ३० हजार ७८ मत ल्याउनुभयाे भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले नाै हजार पाँच सय ६८ मत ल्याउनुभयाे । मेयर र उपमेयरमा एमाले र लोसपाले चुनावी तालमेल गरेका थिए ।