अस्ट्रेलियामा नयाँ प्रधानमन्त्री

अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिजी नियुक्त भएका छन् । शनिबार सम्पन्न आमनिर्वाचनमा विजयी भएपछि विपक्षी दल लेबर नेता अल्बानिजी प्रधानमन्त्री बनेका हुन् ।अल्बानिजीले सोमबार राजधानी क्यानबेरामा अस्ट्रेलियाका गभर्नर जनरल डेभिड हर्लीसमक्ष शपथ लिएका हुन् ।
अस्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्रीले बेलायती महारानीको प्रतिनिधिका रूपमा रहने गभर्नर जनरलसँग शपथ लिने व्यवस्था छ । अल्बानिजीसँगै महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका ४ सांसदले पनि शपथ लिएका छन् । सोमबार बिहान आयोजित कार्यक्रममा लेबर पार्टीका उपनेता रिचार्ड माल्र्सले उपप्रधानमन्त्री, जिम चार्लमरले ट्रेजरर, केटी गालाघरले अर्थमन्त्री र पेनी योंगले विदेशमन्त्रीको शपथ लिएका हुन् ।
नवनियुक्त प्रधानमन्त्री अल्बानिजी ‘क्वाड’ बैठकमा सहभागी हुन शपथग्रहणलगत्तै जापान गएका छन् । बैठकमा सहभागी हुन प्रधानमन्त्रीसँगै नवनियुक्त विदेशमन्त्री योंग पनि गएकी छन् । क्वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत छन् ।
अस्ट्रेलियामा शनिबार भएको चुनावमा सत्तारूढ दल लिबरल गठबन्धनलाई हराउँदै लेबर विजयी भएको हो । लेबरले बहुमत सिटमा जित हासिल गर्न भने सकेको छैन । स्थानीय समाचार संस्था एबीसीका अनुसार सोमबार साँझसम्म लेबर ७३ सिटमा विजयी भइसकेको छ । मतगणनाको अन्तिम नतिजा नआइसकेकाले उसको बहुमत आउन सक्ने सम्भावना भने कायमै छ । लगातार ३ कार्यकाल ९९ वर्ष० सम्म सत्तामा रहेको लिबरल गठबन्धन भने ५४ सिटमा सीमित भएको छ । अस्ट्रेलिया सरकार गठनका लागि १ सय ५१ सदस्यीय तल्लो सदनमा ७६ सिट ल्याउनुपर्छ ।
अस्ट्रेलियासँगको सम्बन्ध चिसिएका बेला चीनले प्रशान्त क्षेत्रको सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि चुनावप्रति विश्वव्यापी चासो बढेको थियो । तत्कालीन सरकार यस मामिलामा असफल रहेको आरोप लगाएको लेबरले कस्तो नीति अख्तियार गर्छ भन्नेमा पनि कतिपयको ध्यान तानिएको छ । जापान प्रस्थान गर्नुअघि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री अल्बानिजीले चीनसँगको सम्बन्ध अप्ठ्यारो किसिमको हुने बताएका छन् ।
तर मन्त्रिपरिषद्का प्रारम्भिक सदस्यको छनोटका आधारमा प्रधानमन्त्री अल्बानिजीलाई चुनावी वाचा पूरा गर्न सहयोग पुग्ने देखिएको जानकारहरूको भनाइ छ । अल्बानिजीको सुरुवाती मन्त्रिमण्डलमा दक्ष र सम्बन्धित क्षेत्रमा जानकार रहेका ब्रिसबेनस्थित सञ्चारविज्ञ डा। भरतराज पौडेल बताउँछन् । विज्ञता र दक्षताका आधारमा जिम्मेवारी दिने कार्यले देश र सरकार सफल हुने गरेको उनको भनाइ छ । ‘एक साताअघि भएको निर्वाचनको नतिजा नेपालमा अझै आइसकेको छैन । अस्ट्रेलियाले चुनाव भएकै दोस्रो दिनमा नयाँ सरकार बनाइसक्यो,’ पौडेलले भने, ‘नेपालले अस्ट्रेलियाबाट धेरै कुरा सिक्नुपर्छ ।’