कैलाशका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ
हेटौंडा/ स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित भएका कैलाश गाउँपालिकाका जनप्रतिनिधिहरुलाई शनिवार पद तथा गोपनियताको सपथग्रहण गराइएको छ ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले उपाध्यक्ष बालकुमार मल्ल ठकुरीसहित दश वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई सपथ गराउनुभएको थियो । यसअघि गाउँपालिकाका अध्यक्ष मुक्तानले गएको बिहिबार मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठबाट सपथ लिनुभएको थियो । बिहिबारनैं उहाँले गाउँपालिका पुगेर कार्यभार सम्हालिसक्नुभएको छ ।
सपथग्रहण कार्यक्रममा गाउँपालिकाका निर्वतमान अध्यक्ष टंक मुक्तान, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, निर्वाचन अधिकृत मुकुन्दहरी पौडेल लगायत राजनीतिक दलका स्थानीय नेताहरुको उपस्थिति थियो । निर्वाचन अधिकृत पौडेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
पालिकामा सत्तापक्षीय गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका लोकबहादुर मुक्तान अध्यक्षमा र नेकपा माओवादी केन्द्रका बालकुमार मल्ल ठकुरी उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । वडातहमा भने गठबन्धनमा रहेका दलहरुविच मित्रवत प्रतिस्पर्धा भएको थियो । दश ओटा वडामध्ये नेपाली कांग्रेसले वडा नम्वर १, २, ७, ८ र ९ को वडा अध्यक्षमा विजय प्राप्त गरेको थियो । नेकपा माओवादी केन्द्रले वडा नम्वर ३ र ४ को वडा अध्यक्षमा विजय प्राप्त गरेको थियो भने नेकपा एमाले वडा नम्वर ५, ६ र १० को वडा अध्यक्षमा विजयी भएको थियो ।