युक्रेनको मारिउपोलमा ‘पूर्ण विजय’ हासिल गरेको रुसको घोषणा

जनपत्र
७ जेष्ठ २०७९, शनिबार ०७:४२

रुसले युक्रेनको मारिउपोलमा विजय हासिल गरेको घोषणा गरेको छ । रुसी सेनाले युक्रेनी बन्दरगाह सहर कब्जा गर्न महिनौँदेखि लडिरहेको थियो । सहरको एजोभस्टल स्टिल प्लान्टको रक्षा गरिरहेका अन्तिम लडाकुहरूले अहिले आत्मसमर्पण गरेको रुसी अधिकारीले बताएका छन् ।

रुसलाई सहरमा पूर्ण नियन्त्रण स्थापना गर्नबाट रोक्न महिनौँसम्म युक्रेनी सेनाहरू विशाल कम्प्लेक्समा लुकेका थिए । ५३१ युक्रेनी सैनिकले त्यस स्थान छोडेपछि सहर र स्टिल प्लान्ट अब ‘पूर्ण रूपमा मुक्त’ भएको रुसी रक्षा मन्त्रालयले बताएको छ ।

“लडाकुहरू लुकेको इन्टरप्राइजको भूमिगत कोठाहरू रुसी सशस्त्र बलको पूर्ण नियन्त्रणमा आयो,” रुसी रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार त्यहाँ रहेका अन्तिम रक्षकहरूलाई ठाउँ छोड्न अनुमति दिइएको बताएका थिए ।

एजोभस्टल स्टिल कारखाना हप्तौँदेखि पूर्ण रूपमा घेराबन्दीमा थियो । मारिउपोल अहिले पूर्ण रूपमा ध्वस्त भएको छ । मस्कोले हालैका दिनहरूमा दुई हजार ४३९ युक्रेनी सैनिकले आत्मसमर्पण गरेको दाबी गरेको छ । तर, उनीहरूलाई कहाँ लगिएको छ भन्ने बारे कुनै सूचना दिएको छैन ।

यसअघि रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको एउटा भिडियोमा उनीहरूलाई रुसी नियन्त्रित क्षेत्रमा लगिएको देखिएको थियो । यसबारे स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ ।

बीबीसीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*