३० वर्ष सम्मको एमालेको ‘विरासत’ तोड्दै हेटौंडाको पहिलो महिला मेयर बनिन् मीना लामा

हेटौंडा । हेटौंडामा ३० वर्ष सम्मको एमालेको विरासतलाई तोड्दै पहिलो महिला मेयरका रुपमा मिना कुमारी लामा बिजयी भएकी छन् । चौतर्फी घेराबन्दीलाई तोड्दै हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा ९एस० की नेता मीना लामा निर्वाचित भएकी छन् । जितसँगै उनी वाग्मती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाको पहिलो महिला मेयरसमेत बनिन् । नेकपा एमाले र राप्रपाको चुनौती पन्छाउँदै लामाले पाँचवर्षका लागि शासनसत्ता आफ्नो हातमा पार्न सफल भइन् ।
बहुदल स्थापनापछिको पहिलो स्थानीय निकाय निर्वाचन २०४९ र दोश्रो निर्वाचन २०५४ मा एमालेले मेयर तथा उपमेयर सहित अधिकांश वडामा जित हाँसिल गरेको थियो । संघिय लोकतन्त्र नेपालको स्थापनापछि भएको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा पनि एमालेले एकलौटी रुपमा हेटौँडाको मेयर–उपमेयर सहित १२ वटा वडाध्यक्षमा जित हाँसिल गरेको थियो । तर २०७९को स्थानीय तहको निर्वाचनमा एमालेले मेयर–उपमेयर सहित पहिले जितेको ३ वटा वडाको संख्या पनि गुमायो र जम्मा ९ वडामा मात्र सिमित हुन परेको छ ।
लामाले २३ हजार ७५ मत ल्याएर विजयी भइन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका नेता अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याए । त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याए । लामाले पौडेललाई २ हजार १ सय ६७ मतले पराजित गरेकी हुन् । त्यस्तै उपमेयरमा कांग्रेसका राजेश बानिया निर्वाचित भए । उनले ३२ हजार ५ सय ९३ मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याए । राप्रपाकी इन्दिरा न्यौपानले ५ हजार ४ सय ८३ मत ल्याइन् । हेटौंडा उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ मत खसेको थियो ।
सत्तारुढ गठबन्धनबाट मेयरको उम्मेदवार बन्नेबित्तिकै नेपाली कांग्रेस र आफ्नो पार्टीभित्रकै चरम असन्तुष्टिबीच लामा चुनावी मैदानमा होमिएकी थिइन् । टिकट नपाएको झोकमा तत्कालीन नेकपा ९एस० जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी नै परित्याग गरी नेकपा एमाले प्रवेश गरेर उनलाई असहयोग गरे । कांग्रेसका असन्तुष्ट नेताहरुले पनि लामालाई खुलेर सहयोग गरेनन् । एमालेका बलियो संगठन, गठबन्धनबाटै असहयोग भएको अवस्थामा पनि उनी दृढतापूर्वक निर्वाचन अभियानमा होमिएकी थिइन् । फलस्वरुप उनी निर्वाचित भइन्
एमालेबाट संविधानसभा सदस्य अनन्त पौडेल र राप्रपाबाट दीपकबहादुर सिंह उनीसँगै चुनावी मैदानमा थिए । एमालेको बलियो संगठन र सिंहको लोकप्रियताबीच लामालाई सत्तामा पुग्न त्यति सहज थिएन । तर, उनलाई नेकपा ९एस० को नेता तथा स्वास्थ्यमन्त्री विरोध खतिवडा र नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको दरिलो साथ रह्यो । कांग्रेसका रुष्ट नेता तथा कार्यकर्तालाई विस्तारै फकाउँदै उनले आफ्नो पक्षमा मतदान गर्ने अवस्था सिर्जना गरिन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाटै उपमेयरमा निर्वाचित भएकी थिइन् ।
एमाले विभाजन भएको अवस्थामा त्यसभित्रको कमजोरीमा खेल्दै उनले आफ्नो पक्षमा माहौल सिर्जना गरिन् । विशेष गरी तामाङ बाहुल्य बसोबास रहेको हेटौंडा–१२ र १३ बाट ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने वातावरण उनले आफ्नै अगुवाइमा तयारी पारिन् । बजार क्षेत्रको मत राप्रपको उम्मेदवारको पक्षमा जाँदा ग्रामीण भेगको मत लामाको पक्षमा आउनु पनि उनले चुनाव जित्ने एउटा आधार हो । एमाले बलियो भएको वडामा सत्तारुढ गठबन्धनले एकता गर्दै जनमतलाई आफ्नो पक्षमा तान्दा लामालाई थप सहज भयो । ‘सुन्दर र स्मार्ट’ हेटौंडा बनाउने नारा दिएकी लामालाई महिला मतदाताले बढी रुचाएको देखिन्छ । उपमेयर हुँदा महिलाका क्षेत्रमा उनले गरेको कार्यका कारण पनि अहिलेको अवस्थामा पुग्ने आधार तयार भएको हो ।
२०३३ साल पुस २७ गते हेटौंडा–११ नवलपुरमा जन्मिएकी लामाले २०४६ सालबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । उनले समाजशास्त्रमा एमए गरेकी छन् । २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उपसचिव र विद्यार्थी इञ्चार्ज भई काम गरेकी लामा २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव भएकी थिइन् । २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य भएकी लामासँग आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष भएर काम गरेको अनुभवसमेत छ ।