पुँजी पलायन रोक्ने नीति ल्याउन सांसदहरूको सुझाव
काठमाडौँ — प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९ का सिद्धान्त र प्राथमिकतामाथि बोल्ने क्रममा सांसदहरूले पुँजी विदेश पलायनबाट रोक्ने नीति ल्याउन सरकारलाई सुझाव दिएका छन् । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सरकारलाई शिक्षा, स्वास्थ्य र विलासी वस्तुको आयातका लागि ठूलो पुँजी विदेश पलायन भइरहेकाले स्वदेशमा नै गुणस्तर बढाउने नीति ल्याउनुपर्ने सुझाव दिएका थिए ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले शिक्षाको लागि देश बाहिर पुग्ने रकम रोक्नलाई देशमै गुणस्तरीय शिक्षा दिनुपर्ने बताएका थिए । उनले विदेश पढ्न जाने विद्यार्थीले पैसा लिएर जाँदा विदेशी मुद्रा सञ्चितिमा समस्या भएको बताएका थिए । उनले विश्वविद्यालय शिक्षालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका छन् । देशमा गुणस्तरीय शिक्षा भएमा विदेशी मुद्रा सञ्चितिमा सुधार गर्ने उनको भनाइ थियो ।