मेयरमा एमालेकी ढकालले १६ हजार ३८ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए । मेयरमा राष्ट्रि प्रजातन्त्र पार्टीका मुकुन्दश्यम गिरीले ९ हजार ९८८ मत पाएका छन् ।
यस्तै, उपमेयरमा एमालेकै निलकण्ठ खनाल विजयी भएकी छन् । खनालले २० हजार ३६४ मत पाएर विजयी भएका हुन् भने उनका निकटतम माओवादीकी शान्ती ढकालले ११ हजार ५३३ मत पाएकी छिन् । त्यस्तै राप्रपाकी लक्ष्मी कुमारी सार्कीले ३६९७ पाएकी छिन् ।
वीरेन्द्रनगर नगरपालिकामा ०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस मेयरमा निर्वाचित भएको थियो । तर, योपटक भने गठबन्धन गर्दा पनि पराजित भयो । मेयरमा विजयी ढकाल निवर्तमान उपमेयर हुन् । ०७४ मा एमालेका बालाराम शर्मा मेयरमा पराजित हुँदा ढकालले अत्याधिक मत सहित उपमेयरमा जितेकी थिइन् ।
यसअघि एक्लै मेयरमा जितेको नेपाली काँग्रेस यो पटक माओवादी केन्द्रको साथ पाउँदा समते पराजय बेहोर्नु परेको छ । गुटगत राजनीतिले थलिएको काँग्रेस आन्तरिक बेमेलले नैै पराजित भएको काँग्रेसकै नेताहरु बताउँछन् ।
वीरेन्द्रनगरमा काँग्रेसको संस्थापन पक्ष पार्टीका उपसभापति पुर्णबहादुर खड्का र संस्थापन इतरका नेता हृदयराम थानीबीचको आन्तरिक कलहको परिणाम नै काँग्रेस पराजयको मुख्य कारण भएको नेताहरुको ठहर छ ।
को हुन, मोहनमाया ढकाल ?
२७ चैत २०३६ मा वीरेन्द्रनगर–१६, गर्पन मेहेलीमा जन्मिएकी ढकाल हाल वीरेन्द्रनगर–८ की स्थायी बासिन्दा हुन् । २०५६ सालमा शिक्षा क्याम्पस सुर्खेतको अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य हुँदै विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी ढकाल हाल नेकपा (एमाले)को केन्द्रीय सदस्य छिन् ।
२०५६ मा अनेरास्ववियु शिक्षा क्याम्पस सुर्खेतको प्रारम्भिक कमिटी सदस्य, २०५७ मा अनेरास्ववियुको जिल्ला कमिटी कोषाध्यक्ष तथा महिला विभाग प्रमुख र २०५९ मा १६औं अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा आवद्ध भइन् ।
२०६० देखि २०६२ सम्म विद्यार्थी राजनीतिमै सक्रिय रहेकी ढकाल २०६२ मा पार्टी राजनीतिमा प्रवेश र दुई कार्यकाल अखिल नेपाल महिला संघको नेतृत्व चलाइन् । हाल उनी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला सह–इन्चार्ज छिन् ।
सुर्खेतको राजनीतिक वृत्तमा ढकाल इमानदार, निष्कलंक र साहसिक नेताका रूपमा परिचित छिन् । पाँच वर्षसम्म उपप्रमुखको पद सम्हालेकी ढकाललाई नगरबासीले पुनः पाँच वर्षका लागी मेयरमा नुनेका छन् ।
राजनीतिशास्त्रमा स्नातकोत्तर ढकालले उपप्रमुखमा निर्वाचित भएसँगै कानुनमा स्नातक गरेकी छिन् । अध्ययन र क्षमताको बलमा उनी कर्णाली प्रदेशमै न्यायिक समितिमध्ये अब्बल काम गर्ने उपप्रमुख थिइन् ।
ढकाल २०७४ को स्थानीय निर्वाचनमा १६ हजार ६८ मत ल्याएर वीरेन्द्रनगरको उप–प्रमुख पदमा विजयी भएकी थिइन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी जानकी सिंहले १४ हजार २६ र माओवादी केन्द्रकी हरिमाया शर्माले ४ हजार ६८९ मत प्राप्त गरेकी थिइन् ।