बालेन लोकप्रियताको अर्थ

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयर पदको लागि बालेनले प्राप्त गरेको सुररुवाती मतको भित्री कारण पर्गेल्न नसकेर धेरै राजनीतिक पण्डितहरू यतिखेर ‘हाइवरनेसन’ मा छन् भनिन्छ । धेरैको चुनावी आकलन र विश्लेषणले पनि अन्तर्निहित सत्यको पहलुलाई खुट्याउन सकेको छैन।
सबैथरी विश्लेषकहरू यो अनपेक्षित चुनावी परिणामलाई बालेनकै वरिपरि रहेर बुझ्ने प्रयास गरिरहेका छन्।
बालेन किन कालो चस्मामा लुक्छन् भन्ने कुराले कसै-कसैलाई आश्चर्यमा पारेको छ। काठमाडौंका मतदाताको ‘मुडी भोटिङ बिहेविअर’लाई नानीमैयाँ दाहालसम्म तानेर वा पद्मरत्न तुलाधरको जनपक्षीय उम्मेदवारीसम्म जोडेर विश्लेषण गर्दा पनि बालेनले तानेको सुरुवाती मतको सरल र एकरेखीय विश्लेषण यथार्थपरक हुन सक्दैन।
बालेनको चुनावी क्रेजको विश्लेषण उनको व्यक्ति–वृत्त भित्रैबाट पनि खोज्न त सकिन्छ, तर त्यो यथार्थ नजिक पुग्दैन। व्यक्ति बालेनको वरिपरिमात्र घुम्न थालियो भने हामी त्यहीँ कतै हराउनेछौं । बालेन एक प्रवृत्ति हो र यस्तो प्रवृत्ति खास–खास समयमा खास–खास सन्दर्भमा उदाउँछ।
बालेन प्रवृत्तिको विश्लेषण गर्दा त्यसको गतिलो पृष्ठपोषण गर्ने मूलधारको राजनीतिलाई सन्दर्भमा लिनु आवश्यक हुने नै भयो। राजनीतिक मूलधारका दलहरूले अनदेखा गरेको आधुनिक युवापुस्ता र तिनीहरू रम्ने–रमाउने ‘साइबर संसार’ (सोसल मिडिया, सञ्जालीय गतिविधि र मतदातासँगको ‘कनेक्टिभिटी’) र त्यसमार्फत देखा पर्दै गरेको पुस्तागत एकतालाई पनि यस्ता परिचर्चाभित्र जोड्नु वाञ्छनीय नै हुन्छ।