६ मा गठबन्धन, २ मा एमाले र २ मा स्वतन्त्र अगाडि
काठमाडौँ — स्थानीय तह चुनाव २०७८ को मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार नेपाली कांग्रेसले ५० स्थानमा प्रमुख/अध्यक्ष पदमा जित हात पारेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४७ स्थानमा प्रमुख पदमा जित हात पारेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले २६ स्थानमा जित हात पारेको छ ।
त्यस्तै कांग्रेस २५१ स्थानमा अग्रस्थानमा रहेको छ । एमालेले १४० स्थानमा अग्रता बनाइरहँदा माओवादीले ८९ स्थानमा अग्रता बनाएको छ । त्यस्तै ६ महानगरमध्ये काठमाडौंमा स्वतन्त्र, भरतपुरमा एमाले र ४ मा गठबन्धनले अग्रता बनाइरहेको छ ।
११ वटा उपमहानगरमध्ये दाङको तुलसीपुरको वडा नम्बर १७ मा जेठ ३ गते चुनाव हुने भएको छ । त्यहाँ वडाध्यक्षका उम्मेदवारको मृत्यु भएकाले चुनाव सरेको थियो । अन्यमा धनगढी र जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । त्यस्तै बाराको कलैया र दाङको घोराहीमा एमाले अगाडि रहेको छ भने बाँकीमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।
१. इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार हेम कर्ण पौडेल ४,१६८ मतका साथ अग्रस्थानमा छन् । पौडेललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यामकुमार चुङ्गवाङ सुब्बाले ३,१५३ मत ल्याएका छन् । उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी ३,४८९ मतसहित अगाडि छिन् । उनलाई एकीकृत समाजवादीका केशवकुमार विष्ट २,५९७ मतसहित पछ्याइरहेका छन् ।
२.धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार किशोर राई ३,५४५ मतका साथ अग्रस्थानमा छन् । राईलाई पछ्याइरहेका स्वतन्त्रका हर्कराज राईले २,६७९ मत ल्याएका छन् । उमपेयरमा माओवादीका अइन्द्रविक्रम बेघा ३,८३० मतसहित अगाडि छन् भने उनलाई एमालेका पदमप्रसाद लिम्बुले ३,२३७ मतसहित पछ्याइरहेका छन् ।
३.जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी २,४७७ मतका साथ अग्रस्थानमा छन् । सुडीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शिवशंकर साहले १,०७७ मत ल्याएका छन् । उपमेयरमा कांग्रसका किशोरी साह २,३५५ मतसहित अग्रस्थानमा छन् भने उनलाई रुणादेवी झाले १,१६४ मतसहित पछ्याइरहेकी छिन् ।
४.बाराको कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका विनोदप्रसाद साह ३,७६१ मतसहित अगाडि रहेका छन् । उनलाई कांग्रेसका राजेश राय यादवले २,१८७ मतसहित पछ्याइरहेका छन् । त्यस्तै उपमेयरमा जसपाका प्रमोदप्रसाद गुप्ता २,४६२ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई एमालेका रौशन परविन २,०६० मतसहित पछ्याइरहेकी छिन्।
५. जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार राजन पौडेल ८,१७६ मतका साथ अग्रस्थानमा छन् । पौडेललाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सरस्वतीदेवी चौधरीले ५,८६१ मत ल्याएकी छन् । त्यस्तै उपमेयरमा कांग्रेसकी मेघा शाही ७,०९४ मतसहित अगाडि रहँदा एमालेका भोलाप्रसाद अधिकारीले ६,२२७ मतसहित पछ्याइरहेका छन् ।
६.हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मीनाकुमारी लामा ४,०४५ मतका साथ अग्रस्थानमा छन् । उनलाई राप्रपाका दीपकबहादुर सिंहले ३,९०० मतसहित पछ्याएका छन् । हेटौंडामा एमालेका अनन्तप्रसाद पौडेल तेस्रो स्थानमा रहँदै ३,४७२ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका राजेश बानिया ४,४२१ मतसहित पहिलो स्थानमा छन् भने एमालेकी सुमित्रा काफ्ले ३,२९५ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।
७. बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्डेय ५,५५५ मतका साथ अग्रस्थानमा छन् । पाण्डेयलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बाबुराम भट्टराईले ३,७४१ मत ल्याएका छन् । उपमेयरमा एमालेकी सावित्रादेवी अर्याल २,१३१ मतसहित अग्रस्थानमा रहँदा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १,७६६ मतसहित पछ्याइरहेका छन् ।
८.दाङको घोराही उपमहानगरपालिकाको मेयरमा एमालेका नरुलाल चौधरी १०,२६० मतसहित अग्रस्थानमा रहेका छन् । सुरुमा माओवादीका हेमराज शर्मा पोख्रेल अगाडि रहे पनि आइतबार साँझदेखि चौधरी अगाडि लागेका हुन् । पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका पोख्रेल ९,२६६ मतसहित दोस्रो स्थानमा रहेका छन् । त्यस्तै उपमेयरमा कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री ८,२६२ मतसहित अगाडि छन् भने एमालेकी हुमाकुमारी डीसी ७,८५३ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
९.नेपालगंज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार प्रशान्त विष्ट ५,३२६ मतका साथ अग्रस्थानमा छन् । विष्टलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पशुपति दयाल मिश्राले २,१८९ मत ल्याएका छन् । नेपालगन्जको उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई ४,०२० मतसहित अगाडि छन् भने विन्दु चर्ती मगरले २,५४२ मतसहित पछ्याएकी छिन् ।
१०.धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ३,८२९ मतका साथ अग्रस्थानमा छन् । हमाललाई पछ्याइरहेका नेपाली कांग्रेसका नृपबहादुर वडले २,०८५ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी १,६२३ मतसहित अगाडि छिन् भने एमालेकी कन्दकलाकुमारी राना १३५३ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।