मकवानपुरगढी गाउँपालिकामा १५७३ मतले दोर्जे लामा अगाडि, चार वटा वडा अध्यक्षमा कसको नेतृत्व ?

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा चार वटा वडाको मतगणना सकिदा गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दोर्जे लामा स्याङतान १५७३ मतले अगाडि परेका छन् । गढी गाउँपालिकाको वडा नम्बर १, २, ७ र ८ को मतगणना सकिदा गाउँपालिका अध्यक्षका उम्मेदवार स्याङतनको ३५७९ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका बिदुर हुमागाईले २००६ मत प्राप्त गरेका छन् ।
यसैगरी गठबन्धनका तर्फबाट माओबादीका मानकुमारी नेपालीले पाख्रिनले ३३५६ मत प्राप्त गरेकी छन् । यस्तै एमालेका तर्फबाट सन्तु थिङले १८८२ मत प्राप्त गरेकी छन् ।
मकवानपुरगढी गाउँपालिका २ नम्वर वडा अध्यक्ष पदमा पुनः नेपाली कांग्रेसका बखान सिं पाख्रिन निर्वाचित भएका छन् । उनीसहित कांग्रेसको प्यानलनै निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाख्रिन ११७१ मतसहित निर्वाचित भएका हुन भने नेकपा एमालेका सन्तबहादुर सिङ्गारले ५९७ र माओवादी केन्द्रका जीतबहादुर लोले ३३७ मत ल्याएका थिए । सो पदमा २६ मत बदर भएको थियो ।
स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरगढी-७ मा नेपाली कांग्रेसका सूर्यबहादुर रूम्बा बिजयी भएका छन् । उनले आफ्ना प्रतिष्पर्धीलाई २६६ मतले पराजित गरेका हुन् । रूम्बाले ६७६ मत ल्याउँदा नेकपा एमालेका एकरत्न गोलेले ४१० मत र माओवादीका चन्द्रबहादुर योन्जनले ४०४ मत ल्याएका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नंम्बर १ मा पनि नेपाली कांग्रेस नेतृत्व प्यानल नै विजयी भएका छन् । आइतबार बिहानको अन्तिम मतपरिणाम अनुसार वडाध्यक्षमा नेपाली कांग्रेसका आईत सिं लो विजयी भएको हुन्। उनले ७९३ मत प्राप्त गरेका थिए भने उनको प्रत्यासी एमालेका उम्मेदवारले ४११ र माओवादीका उम्मेदवारले १६५ मत प्राप्त गरेका थिए ।
मकवानपुरगढी-८ मा कांग्रेसका कुमार घिसिङ बिजयी भएका छन् । उनले आफ्ना प्रतिष्पर्धीलाई ९८ मतले पराजित गरेका हुन् । घिसिङले ४४८ मत ल्याउँदा एमालेका बिनोद पुडासैनीले ३५० र माओवादीले २४४ मत ल्याएको छ । घिसिङ प्यानलसहित बिजयी भएका छन् ।