फुपू-भदैनीको घर झगडा : गाउँपालिका अध्यक्षसहितको टोलीले गरे दुवै जनालाई घर निकाला

कम्मायक गाउँपालिका-४ रानीगाउमा एकै घरमा बस्दै आइरहेका फूपु-भदैनी पर्ने दुई जनालाई गाउँपालिका अध्यक्षसहितको टोलीले घर निकाला गरेकाे छ । सार्वजनिक जग्गामा घर बनाएर बसेका गीतामाया सम्बाहाम्फे र विष्णुमाया लिम्बूलाई गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङसहित प्रहरीको टोलीले घर निकाला गरेकाे हाे । गाउँपालिका अध्यक्ष चेम्जोङका अनुसार, सार्वजनिक जग्गामा निर्माण भएको घर गीतामायाले बनाएकी हुन् । नातामा घर निकाला गरिएका गीतामाया भदैनी र विष्णुमाया फुपू पर्छन् ।
गीतामायाको श्रीमानको केही वर्ष अघि नै मृत्यु भैसकेको हो । श्रीमानको मृत्युपछि विष्णुमाया पनि भदैनीसँग बस्न थालिन् । पछि घरकै विषय र आर्थिक लेनदेनको विषयलाई लिएर दुई जनामा मनमुटाव हुन थाल्यो । विष्णुमायाले भदैनी गीताले बनाएको घर आफ्नो बनाउन खोजेपछि दुई जनामा झगडा हुन थाल्यो र उनीहरुलाई सार्वजनिक जग्गामा निर्माण गरिएको घरबाट निकाला गरी घरमा ताला लगाइएको हो ।