कास्की : मतदानमा उत्साह, मेयरका उम्मेदवारले गरे मतदान

कास्की – कास्कीमा उत्साहजनक रुपमा मतदान भइरहेकाे छ ।
मतदान गर्नका लागि लामो लाइन लागेको छ । पोखराको मेयरका उम्मेदवारमध्ये गठबन्धनबाट धनराज आचार्यले पोखरा ३३ शान्ति उदय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएकाे छ । अर्का उम्मेदवार कृष्ण थापाले पोखरा १६ को बाटुलेचौरमा रहेकाे विन्धवासिनी माविबाट मतदान गर्नुभएकाे छ ।
यस्तै, उपमेयरतर्फ एमालेकी मञ्जुदेवी गुरुङले पोखरा ८ मा रहेकाे राम आधारभूत मतदान केन्द्रबाट र कांग्रेसकी कोपिला रानाभाटले पोखरा २६ मा रहेकाे भवानी कालीका माविको केन्द्रबाट मतदान गर्नुभएकाे हाे । अटेरीबाट मेयरका उम्मेदवार गनेश पौडेलले पोखरा १४ को मझेरीपाटनमा रहेकाे रामेश्वरी मावि मतदान केन्द्रमा मतदान गर्नुभएकाे छ । बिहानदेखि नै उत्साहसहित मतदानमा भाग लिएको पोखरा ६ तालबाराही मावि ‘क’ का मतदान अधिकृत मनहर कडरीयाले बताउनु भयाे ।
पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । यहाँ ९८ मतदान स्थल र २ सय ४२ मतदान केन्द्र छन् । सबैभन्दा बढी १६ नम्बर वडामा ११ हजार १ सय ५० मतदाता छन् भने सबैभन्दा कम वडा नम्बर ४ मा २ हजार ३ सय ४४ छन् । वडा नम्बर ९ मा १ जना तेश्रो लिङ्गी मतदाताले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाभरि २ लाख ८१ हजार ८ सय ३३ मतदाता रहेका छन् । कास्कीमा महानगरसहित ५ पालिकाको चुनाव हुँदैछ।
१ सय ५० मतदान स्थल र ३ सय ३६ मतदान केन्द्रबाट बेलुका ५ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानका लागि जिल्लाभर कर्मचारी र स्वयम्सेवक गरी २ हजार ६ सय ९५ जना खटाइएको छ ।