म्याग्दीकाे सिमकोस र बगरगाउँका बासिन्दालाई मतदानका लागि तीन दिन हिँड्नुपर्ने

जनपत्र
२९ बैशाख २०७९, बिहीबार १२:१३

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ ।

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो ।

स्थानीयवासी चित्रबहादुर तिलिजाले मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र फर्कने गरिएको बताउनुभयो ।

‘मतदान हुने अघिल्लो दिन गाउँबाट हिँडेर नाउरामा पुगेपछि  बास बस्छाैँ, भोलिपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्केपछि नाउरामै बास बस्छौँ’, उहाँले भन्नुभयो, ‘घरबाट हिँडेको तेस्रो दिनमात्र फर्कन सकिन्छ ।’

धवलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती बगर र सिमकोस गाउँमा ५० घरधुरी छ । साविक मुदी गाविसको वडा नं ९ मा पर्ने सिमकोस बगरका बासिन्दाको मतदान केन्द्र मुदीको बुद्धीविकास मावि हो । त्यहाँ १०० भन्दा बढी मतदाता छन् । २०७४ को पालिका  चुनावमा ५७ जनाले मतदान गरेका थिए । २०५४ को पालिका चुनावमा बगर वडाका सबै निर्विरोध भएका थिए । घर कुर्नुपर्ने भएकाले सबै स्थानीयवासी मतदान केन्द्रमा आउन सक्दैनन् ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको छ । पशु गोठमा बस्ने गोठाला पनि मतदानबाट वञ्चित हुने गरेका छन् । नाउराको अक्करे भिरको पैदलमार्ग छिचोलेर बगर पुग्नुपर्छ । मुदी गाउँसम्म मात्र सडक पुगेको छ । नाउराको भिरको पदमार्ग जिल्लाकै जोखिमयुक्त हो । २०६४ सालअघि बगरगाउँ पुग्ने घोडेटो बाटो पनि थिएन । धवलागिरि आधारभूत विद्यालयमा कक्षा ५ पढेपछि यहाँका बालबालिका माथिल्लो तहको अध्ययनका लागि घर छाडेर जानुपर्छ ।

२०७५ सालमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको थियो । त्यस एकाइ नुहँदा बगरवासीलाई उपचारका लागि मुदी पुगेर फर्कन तीन दिन लाग्ने गरेको थियो । बगरमा छुट्टै मतदानस्थल बनाउनुपर्ने स्थानीयवासीको मागमा मतदाता सङ्ख्या थोरै भएकाले पूरा हुनसकेको छैन । एक मतदान केन्द्रमा न्यूनतम एक हजार मतदाता हुनुपर्ने निर्वाचन आयोगको मापदण्ड छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*