वीरगञ्जका मेयर उम्मेदवार सरावगीलाई मध्यरातमा गाउँलेले घेरा हाले, प्रहरीले उद्धार गर्यो

वीरगञ्ज । सोमबार मध्यराति वीरगञ्ज महानगरपालिकाको नगवास्थित एकजना कांग्रेस नेताको घरमा पुगेका मेयर उम्मेदवार विजय सरावगीलाई स्थानीयले घरा हालेका छन् । प्रहरीले करिब अढाइ घण्टापछि उद्धार गरेर घरसम्म पुर्याएको छ ।
सरावगी एमाले-लोसपा गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार हुन् । कांग्रेसका क्षेत्रीय प्रतिनिधि विजय चौरसियाको घरमा उनी गएराति ११ बजेतिर पुगेका थिए । भोट किन्न कांग्रेस नेताको घरमा आएको भन्दै स्थानीयले होहल्ला गर्दै घर घेरा हालेका थिए । त्यसपछि चौरसियाको घर छाडेर उनी छिमेकको अर्को घरमा पुगेका थिए । यसबारे साढे १२ बजेतिर खबर पाएको प्रहरीले मंगलबार बिहान ३ बजेतिर मात्रै निवर्तमान मेयर सरावगीलाई उद्धार गरेर घर पुर्याएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले नगवाबाट निवर्तमान नगर प्रमुख सरावगीको उद्धार गरिएको पुष्टि गरे । ‘निवर्तमान नगर प्रमुख सरावगी नगवामा एक जना कांग्रेस नेताको घरमा छिर्नु भएको रहेछ । स्थानीयले घेरेछन् । साढे १२ बजेतिर खबर आयो,’ उनले भने, ‘दुई-अढाइ सय मान्छेले घेरेका थिए । सम्झाई बुझाई गरेपछि भिड घट्यो, करिब अढाइ घण्टापछि उहाँलाई निकाल्यौं ।’
कांग्रेस नेता चौरसियाले राति निवर्तमान मेयर सरावगी आफ्नो घरमा आएको बताए । ‘म त सुतिसकेको थिएँ, छोराले दुई जना मान्छे भेट्न आउनुभएको छ भनेर उठायो । हेर्दा सरावगी र मामाको छोरा कृष्ण चौरसिया रहेछन् । बाहिर हेर्दा सय-डेढ सय मानिस जम्मा भइसकेका रहेछन्, होहल्ला गर्न थालिसकेका रहेछन् । खतरा देखेपछि हामीले जोगाएका हौं,’ उनले भने ।