कांग्रेस प्रवक्ताकाे दाबी : ओलीले जनतामा गएर मत माग्ने कुनै आधार छैन

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गर्नुभएको छ । प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र देशकाे विकास कुनै पनि अर्थमा ओली असफल भएको भन्दै उहाँलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताउनुभएको हो ।
आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ओलीले नचाहे पनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारूढ गठबन्धन सँगसँगै अघि जाने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले सत्ता गठबन्धनमा आबद्ध अन्य दलहरूले पनि ओलीलाई साथ दिने कुनै सम्भावना नरहेको बताउनुभयो ।
प्रवक्ता महतले भन्नुभयो, ‘केपी ओली सबै कोणबाट असफल भइसकेका छन् । अब के मुखले उहाँले भोेट माग्ने ? पाँच वर्षका लागि निर्वाचित सरकारले साढे तीन वर्षमै दुई पटक हात उठायो । उहाँले बरबाद गरेपछि सरकारकाे नेतृत्व कांग्रेसले लिनुपर्याे । अब हामीले गठबन्धनलाई अगाडि बढाऔँ । यद्यपि उहाँले यो रहँदैन, चल्दैन भन्नुभएको छ । हो, उहाँ त अवश्य पनि नचलोस् भन्ने चाहनुहुन्छ । कांग्रेस लोकतन्त्रलाई बलियो पार्न, संविधानलाई बलियो पार्नका लागि यो सहयात्रा गर्न तयार छ । हामीलाई विश्वास छ, हाम्रा सहयात्री दलहरू ओलीतिर जानु हुन्न ।
प्रवक्ता महतले चुनावकाे सिलसिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लामा आफ्ना पार्टीका कार्यकर्तामाथि आक्रमण भएकाे भन्दै आपत्ति जनाउनुभयो । उहाँले ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो ।
प्रवक्ता महतले नेपाली कांग्रेसको सभापतिको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव प्रचारमा गएकाले उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्न नमिल्ने पनि बताउनुभयो ।