सत्ता गठबन्धनले आज पोखरामा चुनावी सभा गर्दै, देउवालगायतले सम्बोधन गर्ने

सत्ता गठबन्धनले आज (आइतवार) कास्कीको पोखरा महानगरपालिकामा चुनावी सभा गर्दैछ ।बिहान ११ बजे चुनावी सभा शुरू गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
सभामा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत अन्य नेताहरूले सम्बोधन गर्नेछन् ।
यस्तै दाङको तुलसीपुरमा पनि आजै चुनावी सभा हुनेछ । पोखरामा सभा सकेर सभापति देउवालगायत शीर्ष नेताहरू दाङको तुलसीपुर जानेछन् । त्यहाँ दिउँसो २ बजे सभा आयोजनाको तयारी छ । यसअघि शनिवार रुपन्देहीको बुटवल, तनहुँको दमौली र धनुषाको जनकपुरमा सत्ता गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ ।
गठबन्धनले वैशाख २१ गतेबाट चुनावी सभा शुरू गरेको थियो । २१ गते विराटनगर, २२ गते भरतपुर र २३ गते काठमाडौंमा चुनावी सभा सम्पन्न भइसकेको छ ।
पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यले उम्मेदवारी दिएका छन् । उनीसँग प्रतिश्पर्धामा एमालेका तर्फबाट कृष्ण आचार्य मैदानमा होमिएका छन् ।