रातो मच्छिन्द्रनाथकाे रथ सुन्धारामा, पाटन-सुन्धारा रुटमा गाडी डाइभर्सन
काठमाण्डाै – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई मङ्गलबजारबाट तानेर सुन्धारा पुर्याइएको छ । रथलाई पुल्चोकबाट तानेको दिनमा गाःबहालमा विश्राम गराएपछि हिजो दोश्रो विश्रामस्थल सुन्धारा पुर्याइएको हो ।
दोश्रो विश्रामस्थलमा रथ पुर्याइएपछि बाराही गुथियारले पनिस्था पूजा गर्नुपर्ने परम्परा अनुसार आज सुन्धारामा होमसहित पनिस्था पूजा हुने रथ निर्माणमा संग्लन बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो । उहाँका अनुसार जात्राको क्रममा कुनै पनि बिघ्नबाधा नआओस्, रथका कारणबाट कसैलाई केही नहोस् भनेर पनिस्था पूजा गरिन्छ ।
भोलि रथलाई सुन्धाराबाट लगनखेलतर्फ तानिनेछ । लिच्छविकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाण्डौ उपत्यकामा ल्याइएको र त्यसपछि सहकाल सुरु भएको किंवदन्ती छ ।
रातो मच्छिन्द्रनाथको रथ राखिएका कारण आज ललितपुरको पाटन, सुन्धारा हुँदै चल्ने गाडीलाई डाइभर्सन गरिएको छ । यो रुट भएर चल्ने गाडीलाई ट्यागल र सौगलतर्फ पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । आज रथ नतान्ने भएकाले दिनभर नै यो रुटमा गाडी डाइभर्सन हुनेछ । काठमाण्डौ उपत्यकाको बाँकी ठाउँमा भने समान्य रुपमा गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ।