नवौँ शताब्दीको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका
संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यमा रहेकाे येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ ।
याे मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्युयोर्कमा रहेकाे नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच शुक्रवार हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ ।
२०३२ सालमा भक्तपुरको गोलमाडीमा र वीरभद्रेश्वर महादेव मन्दिरबाट मूर्ति हराएको थियो । सात वर्षअघि येल युनिभर्सिटी आर्ट ग्यालरीलाई एक जना दाताले मूर्ति प्रदान गरेका थिए ।
मूर्ति नेपालको भए/नभएको सम्बन्धमा ग्यालरी र नेपालको पुरातत्व विभागले बेग्ला–बेग्लै अनुसन्धान गरेका थिए । न्युयोर्कमा रहेकाे महावाणिज्य दूतावासले आर्ट ग्यालरी र पुरातत्व विभागसँगको समन्वयमा मूर्ति नेपाल फिर्ता गर्नेछ ।