न्युरोडमा ‘स्मार्ट पार्किङ’ सेवा, घरमै बसेर एपबाट बुकिङ गर्न सकिने

काठमाण्डौ महानगरपालिकाले अति व्यस्त बजार क्षेत्र न्युरोडमा आइतबारबाट स्मार्ट पार्किङ’ सेवा सुरु गरेको छ । स्मार्ट पार्किङ सेवाको उद्घाटन गर्दै काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तत्कालका लागि सुरु गरिएको यो सेवालाई समयानुकूल परिवर्तन र परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । स्थानीयले सडक व्यवस्थापन गर्न आग्रह गरेपछि पार्किङलाई व्यवस्थित र मर्यादित बनाउन ‘व्हिल्स ट्रुली योर्स’ को सहकार्यमा पाँच ठाउँमा स्मार्ट पार्किङको व्यवस्था गरिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले उज्यालोलाई बताउनुभयो ।
‘दुई हप्ता परीक्षण गरिसकेपछि आज (आइतबार) बाट स्मार्ट पार्किङ सेवा सुरु गरिएको हो । यसले विकसित रुप लिइसकेपछि सम्भावित स्थानमा विस्तार गर्ने योजना बनाएका छौँ,’ प्रवक्ता डंगोलले भन्नुभयो ।
उहाँका अनुसार अहिलेलाई विशाल बजार अगाडिको इन्द्रचोक जाने सडक, धर्मपथ, रामेश्वर मिठाइ पछाडिको क्षेत्र, पाको र आरबी कम्प्लेक्स अगाडि स्मार्ट पार्किङको व्यवस्था गरिएको छ । एन्ड्रोइड र आईओएस दुवैमा ‘केएमसी पार्किङ’ एप डाउनलोड गरेर स्मार्ट पार्किङको सेवा लिन सकिने उहाँले जानकारी दिनुभयो ।