तीन महिनअघि मुस्लिम युवतीसँग विवाह गरेका युवकको बीच सडकमा हत्या
भारतको हैदराबादमा पत्नीसँग बाइकमा घर गइरहेको एक युवकलाई ससुराली पक्षले कुटेरै मारेको छ । स्थानीय प्रहरीका अनुसार २५ वर्षे कार विक्रेतालाई उनकी मुस्लिम पत्नीका दाजुभाइ र नादेदारले बीच सडकमा फलामको रड र चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
बी नागराजु नामका ती युवकले सैयद अश्रीन सुल्तानासँग तीन महिनाअघि भागी विवाह गरेका थिए । बुधबार राति स्थानीय समयअनुसार राति ८ः४५ बजे दम्पति बाइकमा चढेर घर जाँदैगर्दा दुई व्यक्तिले रोकेर युवकमाथि रड र चक्कु प्रहार गरेका थिए ।
त्यहाँ एकछिनमा भीड जम्मा भएको सिक्युरिटी फुटेजमा देखिन्छ । तर, आक्रमणकारीलाई रोक्न कोही अघि सरेनन् । कतिपय मानिस युवकले मरणासन्य हुनेगरी पिटाइ खाइरहेको दृश्य आफ्नो मोबाइलमा कैद गरिरहेका थिए । भिडियोमा नागराजु केही बेरमै मृत अवस्थामा देखिए । उनको टाउकोबाट रगत बगिरहेको थियो । पत्नी मद्दतका लागि चित्कार गरिरहेकी थिइन् ।
एक भिडियोमा सुल्तानाले आक्रमणकारीलाई नागराजमाथि फेरि रड प्रहार गर्न नदिन कोसिस गर्दै गरेको देखिन्छ । यसपछि त्यहाँ जम्मा भएका मानिसले आक्रमणकारीलाई लखेटे । पछि सुल्तानाले आक्रमणकारी आफ्नो दाइ भएको बताइन् । यो घटना केही मिनेटभित्रै भएको थियो । व्यस्त सडकमा नागराजुको मृत्यु भयो तर कसैले उनलाई बचाउने प्रयास गरेनन् ।
सुल्तानाले मिडियासँगको बातचितमा भनिन्, ‘उनीहरूले मेरा श्रीमानलाई बीच सडकमा मारे । पाँच जनाले आक्रमण गरे । मेरो दाइ र अन्य मानिस पनि संलग्न थिए । हाम्रो मद्दत गर्न कोही अघि सरेनन् । मैले सबैसित सहयोगको भीख मागेँ । उनीहरूले मेरो आँखैअगाडि पतिलाई मारे ।ु