कांग्रेसको सरकार बनेमा ६५ वर्ष पुगेपछि भत्ता दिन्छ : प्रधानमन्त्री देउवा

जनपत्र
२१ बैशाख २०७९, बुधबार १७:४१

माेरङ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको सरकार बनेपछि ६५ वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक भत्ता दिने बताउनुभएको छ ।

नेपाली कांग्रेस मोरङले आज बुधवार विराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारले विशेष सुविधा दिने गरेअनुसार नै भत्ता दिने बताउनुभयो । ‘हामीले यसअघि नै ६५ वर्षमाथिकालाई भत्ता दिने निर्णय गरेका थियौँ, एमाले अध्यक्ष ओलीले मान्दै मान्नुभएन’, देउवाले भन्नुभयो ।

आमसभामा देउवाले सुकुम्वासीलाई जग्गा दिन थालेको, विकास निर्माणले गति लिएको, सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिएको लगायतका काम सरकारले गरेको बताउनुभयो ।

यस्तै उहाँले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएकाले कसैले कसैलाई धोका दिन नहुने बताउनुभयो । केपी शर्मा ओलीको प्रतिगमनलाई पाँच दल मिलेर परास्त गरेको र आफू प्रधानमन्त्री भएको भन्दै देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो। शङ्का उपशङ्का पैदा गर्ने काम गर्नु हुँदैन। नेपाली कांग्रेसले धोका खाएको हो, अरूलाई धोका दिँदैन भन्ने कुरा सबै साथीले बुझ्नुस् । यस्तो मौका गुमाउनु हुँदैन। उचाल्ने पछार्ने मानिस धेरै छन्। गठबन्धन अहिलेको आवश्यकता हो। धोका दिने काम नेपाली कांग्रेसबाट कहिल्यै हुँदैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*