रिभर फल्सको आईपीओ वैशाख २८ बाट
रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि वैशाख २८ गतेदेखि २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन खुला गर्ने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओमा लगानीकर्ताले जेठ ४ गतेसम्म आवेदन दिन सक्ने छन् ।
कूल निष्कासनमध्ये ५४ हजार ६ सय कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र १ लाख ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणका लागि छुट्याइएको २५ लाख ३८ हजार ९ सय कित्ता सेयर २ लाख ५३ हजार ८ सय ९० जनाले १०–१० कित्ताका दरले पाउनेछन् । हिजोआज आईपीओमा २२–२३ लाख जनाले आवेदन दिन गरेकोले उक्त कम्पनीको आईपीओमा पनि १० कित्ताका लागि मात्र आवेदन दिनु उपयुक्त हुनेछ ।
कम्पनी यसअघि आयोजना प्रभावितलाई ७ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ । कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०।३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।