दुईदिने सार्वजनिक बिदामा अभिभावक असन्तुष्ट
सरकारले आगामी १ जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकोमा अभिभावक भने असन्तुष्ट देखिएका छन् । सरकारले अर्थतन्त्रमा समस्या परेकाले पेट्रोलियम पदार्थ र विद्युत्को प्रयोग घटाउने उद्देश्यले तत्कालका लागि दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
अभिभावकहरूले भने आइतबार पनि बिदा दिँदा विद्यार्थीहरूको सिकाइ प्रक्रियामा असर पर्ने तथा निजी क्षेत्रमा काम गर्ने अभिभावकलाई व्यवस्थापनमा समेत असर पर्ने भन्दै निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
अभिभावकहरूले आइतबार सार्वजनिक बिदा दिएमा स्कुल तथा कलेजको शुल्कसमेत घटाउनुपर्नेमा समेत जोड दिएका छन् ।
अनामनगर बस्दै आएकी निजी क्षेत्रमा कार्यरत ललिता मगरले आइतबार पनि सार्वजनिक बिदा दिँदा बालबच्चाको व्यवस्थापन गर्न अप्ठ्यारो हुने बताउँछिन् । ‘शनिबार एक दिन सार्वजनिक बिदाको दिन अफिस पनि बिदा हुन्थ्यो, त्यो दिन केटाकेटी सँगसँगै घरमा बिताउँथे, अब आइतबार स्कुल बिदा हुने रे, मेरो अफिस बिदा हुँदैन के गर्ने भन्नेले चिन्ता थपिएको छ,’ उनले भनिन् ।
निजी कम्पनीमा काम गर्ने नयाँ बानेश्वर बस्ने सीता खड्कालाई पनि त्यस्तै समस्या छ । दुई जना स्कुलमा पढ्दै गरेका छोराछोरी रहेकी उनले पनि आइतबार पनि सार्वजनिक बिदा भए अफिस र छोराछोरीको हेरचाह कसरी गर्ने भन्ने चिन्तामा परेको बताउँछिन् । ‘अफिस छाड्यो भने उनीहरूलाई पढाउन सकिँदैन, नछाडौं भने साना बालबच्चा भएकाले छाड्न पनि नसक्ने अवस्था छ,’ उनले भनिन् ।
गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी महिनादेखि हप्तामा शनिबार र आइतबार गरेर दुई दिन बिदा दिने निर्णय गरेको हो । दुई दिन सार्वजनिक बिदा दिने निर्णयपछि सरकारी कर्मचारी खुसी देखिए पनि निजी क्षेत्रमा कार्यरत कर्मचारी भने आफ्नो क्षेत्रमा दुई दिन सार्वजनिक बिदा नहुने भन्दै खुसी देखिँदैनन् ।
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने अभ्यास नौलो भने होइन । यसअघि शेरबहादुर देउवा नै प्रधानमन्त्री भएको समयमा हप्तामा दुई दिन बिदा दिने निर्णय उल्टाएका थिए । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा १ साउन २०५६ बाट नेपालमा दुई दिन सार्वजनिक बिदाको अभ्यास सुरु गरिएको थियो ।
त्यसबेला पनि अहिलेजस्तै पेट्रोलको भाउ बढेको र बिजुली पनि बचाउनुपर्ने अवस्था रहेको भन्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय भयो । २०५८ को अन्त्यसँगै सो निर्णय उल्टिएको थियो ।
अहिले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि र नेपालको विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटपछि दुई दिन बिदा निर्णय बताइन्छ । दुई दिन बिदा दिँदा इन्धनको खपत कम हुने अपेक्षा अधिकारी गरेको बताउँछन् । राजधानीडेलीबाट