हेटौंडा–१८ मा गठबन्धनको घरदैलो
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ हर्नामाडीमा आज गठबन्धनका नेता कार्यकर्ताहरुले घरदैलो कार्यक्रम गरेका छन् । गठबन्धनका मेयर पदमा उम्मेदवार मिना लामा, उपमेयरका उम्मेदवार राजेश बानियाँ सहित प्रदेश स्तरका नेताहरु सहित घरदैलो अभियान गरेका हुन् । गठबन्धनलाई मत माग्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेश सभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, प्रदेशसभाका सदस्य मुनु सिग्देल लगायतका नेताहरु सहितले घरदैलो गरेका हुन् । आसन्न स्थानीय तहको निर्वाचनको लागि आफ्नो वडाको घरदैलो अभियानमा लागेका छन् ।
हेटौंडा उपमहानगर वडा नम्बर १८ हर्नामाडीमा वडा अध्यक्षका उम्मेदवार रामबाबु बानियाँ लगायतको टिमलाई जिताउन घरदैलो अभियानमा लागेका हुन् । नेता बानियाँको उपस्थितीले गठबन्धनका नेता तथा उम्मेदवारहरुमा हिम्मत र उर्जा थपिएको जनाएको छ । गठबन्धनलाई जिताउनको लागि मैदानमा उत्रेका बानियाँले गठबन्धनको लहर देखेर एमाले तर्सिएको बताएका छन् ।
उनले कांग्रेस तथा गठबन्धनका कार्यकर्ताहरुलाई गठबन्धनका उम्मेदवार बाहेक अन्यन्त्र मतदान नगर्न आग्रह गरेका छन् । गठबन्धन भनेको केन्द्रीय राजनिति हो यसको पालना गर्नु आम कार्यकर्ताहरुको दायित्व रहेको समेत उनले बताए । घरदैलो कार्यक्रममा नेता बानियाँ सहित उम्मेदवारहरु, गठबन्धन दलका नेतागणहरुको उपस्थिती रहेको थियो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक महिला नेतृत्व पाउने अवसर रहेको बताएका छन् ।
बानियाँले उपमहानगरपालिकामा जनताको मतले पहिलो पटक महिला नेतृत्व आउने अवसर रहेको बताएका हुन् । उनले गठबन्धनबाट मेयर पदकी उम्मेदवार यसअघि उपमेयर भई जनताको मन जितेकाले मेयरको नेतृत्व दिईएको बताउँदै पहिलो पटक महिला र जनजातिको छोरीले उपमहानगरपालिकामा जनताको सेवा गर्ने अवसर रहेकाले सबैलाई मतदानका लागि आग्रह गरे ।