कानुनकाे व्यवस्थाअनुरुप नै सिंहलाई महानिरीक्षकमा बढुवा गरिएकाे हाे : गृहसचिव पाण्डे

जनपत्र
१९ बैशाख २०७९, सोमबार १२:३४

काठमाण्डाै – गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताउनुभएको छ।

आज गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताउनुभएको हो ।

उहाँले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानुन प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै सिंहलाई महानिरीक्षकमा बढुवा गरिएको बताउनु भयो ।

सचिव पाण्डेले एआईजीहरुमा सिंहमा सबै कार्यकुशलता देखेर नै निर्णय गरेको बताउनु भयो । उहाँले सबै एआईजीहरु २०४९ साल चैत्र १२ गतेको नियुक्ति भएकोले उनीहरुबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको स्पष्ट पार्नुभयो ।

सचिव पाण्डेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको अहिलेको जनशक्तिले आवश्यकतालाई धान्न नसक्ने बताउनु भयो । उहाँले अहिलेको आवश्यकता धान्न १ लाख नेपाल प्रहरी र न्यूनतम ५० हजार सशस्त्र प्रहरीको आवश्यकता रहेको बताउनु भयो ।

गृहसचिव पाण्डेले आन्तरिक रुपमा रहेका विकृति र विसङ्गतिलाई हटाउनु दुवै प्रहरी बलका लागि चुनौती रहेको बताउनु भयो । उहाँले विगतमा भोगेका भन्दा नविन ढाँचाका अपराधका प्रकृतिहरु विकास भइरहेकोले नियन्त्रण र त्यस्ता चुनौतीहरुको सामना गर्न सक्षम प्रहरी सङ्गठनको निर्माण गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*