केपी ओली र निर्वाचन आयाेगका प्रमुखकाे बोली कसरी मिल्यो ? : नेता पुन

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । आज आइतवार १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाउनुभएको हो ।
प्रमुख निर्वाचन आयुक्तले मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिँदैन भनेर दिएकाे अभिव्यक्ति र ओलीको पनि त्यही अभिव्यक्ति कसरी भयाे भन्दै उहाँले प्रश्न गर्नुभएको हो । कुनै नेता विशेष र पार्टी विशेषको बोली आयोगले बोल्न नमिल्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगका प्रमुख आयुक्त कुनै पार्टीको व्यक्ति हुँदैन । कसैकाे समर्थक हुँदैन । त्यस अर्थमा निर्वाचन आयोग रेफ्रीको भूमिकामा हुनुपर्छ । रेफ्री आफैँ मैदानमा ओर्लेर खेल खेल्न लाग्यो भने, गोल हान्न लाग्यो भने त्यो खेल कस्तो हुन्छ ? प्रमुख निर्वाचन आयुक्तले मतपत्र बलियो कागजकाे छ, अब चपाउन र च्यात्न सकिँदैन भन्नुभयो । त्यही कुरा केपी ओलीले बोलिराख्नुभएको छ । आयाेगका प्रमुख र ओलीकाे बोली कसरी मिल्यो ? यसमा हाम्रो आपत्ति छ ।’
नेता पुनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरूले निष्पक्ष भूमिका खेल्न नसकेको पनि बताउनुभयो । नेता पुनले संविधान र लोकतन्त्रको रक्षाका निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तमान उपलब्धिको रक्षापछि गठबन्धनका दलहरू आपसमा प्रतिस्पर्धा गर्ने बताउनुभयो । उहाँले एमाले अध्यक्ष ओली वामपन्थी नभएको आरोप पनि लगाउनुभयो ।
नेता पुनले एमालेले धार्मिक एजेन्डा बोकेर हिँडेको आरोप लगाउनुभयो । एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले गोविन्दराज जोशी र कमल थापालाई लिएर हिँड्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । ओलीले बाहिर–बाहिर हुङ्कार गरेको भए पनि भित्रैबाट गलिसकेको र पराजित भइसकेको नेता पुनकाे दाबी छ ।
नेता पुनले माओवादी केन्द्रको प्रहार ओली प्रवृत्तिमाथि भएको भन्दै एमालेभित्र क्रान्तिकारी, प्रगतिशील र देशभक्त नभएको बताउनुभयाे ।