राष्ट्र सङ्घका महासचिव गुटेरेस युक्रेनमा, रुसी आक्रमणमा परेका सहरको अवलोकन गर्दै

जनपत्र
१५ बैशाख २०७९, बिहीबार १४:२२

unn.prixa.net

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरेस युक्रेन पुग्नुभएको छ । गएको मङ्गलवार रुस भ्रमण गरेका महासचिव गुटेरेस आज युक्रेन पुग्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

गुटेरेसले रुसले ठूला आक्रमण गरेका मुख्य सहरको भ्रमण गरिरहनुभएको र आम नरसंहार गरेको भनिएको बुचा सहर पुग्ने कार्यक्रम पनि रहेको खबरमा उल्लेख छ ।

बुचामा रुसले झन्डै पाँच सय नागरिकको हत्या गरेर गाडेको युक्रेनको आरोप छ । यसै विषयलाई लिएर युक्रेन, युरोपेली देश र अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्ध अपराधको मुद्दा चलाउनुपर्ने बताउँदै आएका छन् ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरेसले आजै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने तालिका छ । यसअघि रुस भ्रमणका क्रममा गुटेरेसले युक्रेनमा युद्धविराम गर्न  आग्रह गर्नुभएको थियो ।

तर रुसी विदेशमन्त्री लाभरोभले पश्चिमा देशले युक्रेनलाई प्रयोग गरेर रुसमाथि हमला गर्न खोजेको, रुसी सीमा क्षेत्रमा कयौँ देशका सेनालाई परेड खेलाउने षड्यन्त्र स्वरुप युक्रेनलाई नेटोको सदस्यता दिन लागेको लगायतका कारण युक्रेनमा आक्रमण गर्नुपरेको बताउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*