मकवानपुरमा तहसनहस सत्ता गठबन्धनः बागीको भारी, उम्मेदवारी फिर्ता गराउनै सकस

जनपत्र
१५ बैशाख २०७९, बिहीबार ०७:४१

मकवानपुर/ मकवानपुरमा सत्ता गठबन्धनलाई बागी उम्मेदवारको निकै समस्या भएको छ । बैशाख १२ गते उम्मेदवारी दर्ता गरिएपनि आज बिहान सम्ममा अधिकांशले उम्मेदवारी फिर्ता लिएका छैनन् । केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरुले फोन र भेटेर बागी उम्मेदवारलाई फिर्ता गराउन खोज्दा पनि सकस भएको हो ।

स्थानीय तह निर्वाचनमा मकवानपुर जिल्लाका दश वटै स्थानीय तह र प्रत्यक वडामा समेत तालमेल गर्ने भनिएको सत्ता गठबन्धनलाई एक पार्टीले अर्को पार्टीको अस्तीत्व स्वीकार गर्न नसक्दा पनि समस्या भएको छ । मकवानपुरका पाँच स्थानीय तहमा तालमेल गर्न नसकेका पाँचदलीय सत्ता गठबन्धनलाई सहमति भएका ठाउँहरुमा पनि बागी उम्मेदवारको भारी अर्को चुनौती बनेको छ ।

मकवानपुर जिल्लामा सत्ता गठबन्धन दलले पार्टीको निर्णयविपरीत स्थानीय तहमा उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सम्झाई–बुझाई गर्ने, फकाउने र त्यति गर्दा पनि उम्मेदवारी फिर्ता नलिए अनुशासनको कारबाही गर्ने कांग्रेस मकवानपुरका सचिब भिमसेन महतले बताउनुभयो । त्यसका लागि दलहरूले कहाँ कति स्वतन्त्र उम्मेदवारी परेको छ भनेर तथ्यांक संकलनको काम सकेका छन् । ।

बागी उम्मेदवारहरूको पहिचान गर्ने र सम्झाई–बुझाई गरेर उम्मेदवारी फिर्ता गराउने तयारी छ । फिर्ता नभए पार्टी अनुशासनको कारवाही हुने नेताहरू बताउँछन् । यता जसपाले मकवानपुरको हेटौंडा सहित धेरैजसो स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ । जसपालाई सत्ता गठबन्धनले नसमेटेका कारण उसले छुट्टै उम्मेदवारी दिएको हो ।

मकवानपुरमा बागी उम्मेदवारका कारण नेपाली कांग्रेसलाई समस्या परेको छ । माओबादी र एकिकृत समाजबादीका उम्मेदवारलाई चुनाब हारिएला भन्ने चिन्ता पनि त्यतीकै छ । वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचनको टिकट वितरणलाई पारदर्शी बनाउन नसक्दा कांग्रेसका नेताहरुले विभिन्न स्थानमा बागी उम्मेदवार दिएका हुन् । सत्तारुढ गठबन्धनले तोकेकोभन्दा अन्य उम्मेदवारलाई कांग्रेसले बागीको रूपमा चित्रण गरेको छ ।

मनहरी गाउँपालिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपानेले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले नेपाली कांग्रेस बीपी पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन् । उनीसँगै सोही दलबाट कांग्रेस नेतृ जानुकी लामाले उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन् । न्यौपानेले आफ्नो वडा मनहरी–४ मा कांग्रेसबाट कुनै पनि पदमा उम्मेदवारी नै नदिने अवस्था सिर्जना गरेका थिए । फलस्वरुप यस वडामा नेपाली कांग्रेसको उम्मेदवार नै छैन ।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका अध्यक्षमा पनि कांग्रेस नेता शंकर पराजुलीले अध्यक्ष र शेरबहादुर लामा भोलनले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । दुवैले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।

हेटौंडा उपमहानगरपालिका–२ मा सुदीप राजवाहक र हेटौंडा–९अध्यक्षमा सुशील सिग्देलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । राजवाहक अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । सिग्देल तरुण दल नगरका पूर्वसचिव हुन् ।

प्रदेश तहबाट गठबन्धन टुंगो लगाएपनि स्थानीय तहमा दलहरुको सहमति अनुसार उम्मेदवारी दर्ता नुहँदा तालमेलमा जालझेल देखिएको हो । मकवानपुरको १० वटै स्थानीय तहमा गठबन्धन भएपनि पाँच स्थानीय तहको प्रमुख र उपप्रमुख दुबैमा गठबन्धन भत्काएर उम्मेदवारी दर्ता भएको छ ।

बकैया, कैलाश, मनहरी, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिकामा गठबन्धनको तालमेलभन्दा फरक उम्मेदवार खडा गरेर उम्मेदवारी दिइएको छ । यो अवस्थामा मकवानपुरमा आंशिक गठबन्धन भएको देखिन्छ । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, भीमफेदी, बागमती गाउँपालिकामा भने, गठबन्धनमा भएको तालमेल अनुसारनै उम्मेदवारी दर्ता गरिएको छ ।

प्रदेश तहमा गठबन्धनको सहमति अनुसार बकैयामा नेपाली काँग्रेस प्रमुख, नेकपा माओवादी केन्द्र उपप्रमुख, कैलाशमा प्रमुख काँग्रेस, उपप्रमुख नेकपा माओवादी केन्द्र, मनहरीमा काँग्रेस प्रमुख, नेकपा माओवादी केन्द्र उपप्रमुख र इन्द्रसरोवर गाउँपालिकामा नेकपा एकीकृत समाजवादीलाई प्रमुख र उपप्रमुख काँग्रेसको भागमा पारिएको थियो । तर, बकैयामा तीन दलले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

धर्मराज लामिछाने काँग्रेसबाट प्रमुख, उपप्रमुखमा छायाँ अधिकारी, नेकपा माओवादी केन्द्रबाट लक्ष्मीमाया माझि, उपप्रमुखमा भक्तबहादुर खत्री, नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा नारायण तिमल्सिना, उपप्रमुखमा उर्मिला राइले उम्मेदवारी दिएका छन् ।

कैलाशमा पनि गठबन्धन भत्काएर उम्मेदवारी दर्ता भएको छ । नेपाली काँगे्रसबाट लोकबहादुर मोक्तान, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीबाट टेकबहदुर मोक्तानले उम्मेदवारी दिएका छन् । मनहरीमा गठबन्धनका तीन वटै दल र काँग्रेसबाट बागी उम्मेदवारी परेको छ । मनहरीमा प्रमुखमा काँग्रेसबाट रञ्जन कालाखेती, एकीकृत समाजवादीबाट नारायण श्रेष्ठ र बागी उम्मेदवार काँग्रेस (बीपी)बाट शंकर न्यौपानेले उम्मेदवारी दिएका छन् । उपप्रमुखमा रेखा पुलामी नेकपा माओवादी केन्द्रबाट, मनिला बिष्ट नेकपा एकीकृत समाजवादीबाट र काँग्रेस (बीपी)बाट जानुकी लामाले बागी उम्मेदवारी दिएकी छन् ।

राक्सिराङमा पनि तालमेल तोडेर उम्मेदवारी दर्ता गरिएको छ । काँग्रेसबाट राजकुमार मल्ल र नेकपा एकिकृत समाजवादीको तर्फबाट कृष्ण बहादुर प्रजाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा नेकपा एमालेबाट सुन्तली माया प्रजा, नेकपा माओवादी केन्द्रबाट वनस्तम थिङ र नेकपा एकिकृत समाजवादीका तर्फबाट मिलनकुमारी तामाङले उम्मेदवारी दिएका छन् ।

इन्द्रसरोवरमा गठबन्धन भत्काइएको छ । इन्द्रसरोवरको प्रमुखमा एकीकृत समाजवादीबाट जीवन लामा, जनता समाजवादी पार्टीबाट देवकुमार लामा, काँग्रेसबाट विश्व लामाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा काँग्रेसबाट निर्मला रुम्बा र जसपाबाट रस्मिला घिसिङले मनोनयन दर्ता गराएका छन् ।

गठबन्धनमा भएको भागबण्डालाई स्वीकार्दै हेटौंडा उपमहानगरको प्रमुखमा एकीकृत समाजवादीबाट मिना लामा, काँग्रेसबाट राजेश बानियाँ, थाहा नगरको प्रमुखमा माओवादी केन्द्रबाट विष्णु बिष्ट, उपप्रमुख काँग्रेसबाट भरत गोपाली, भीमफेदीको प्रमुखमा माओवादी केन्द्रबाट बद्री स्याङ्ता, उपप्रमुखमा काँग्रेसबाट संजीव श्रेष्ठ, बागमती गाउँपालिकामा माओवादी केन्द्रबाट सर्केश घलान र काँग्रेसबाट फाणिन्द्र तिमल्सिना, मकवानपुरगढीमा काँग्रेसबाट प्रमुखमा दार्जे लामा र माओवादी केन्द्रबाट मानकुमारी नेपाली उम्मेदवार बनेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*