मकवानपुरका गाउँ गाउँमा चुनाबी अभियान, टोल टोलमा पुग्दै उम्मेदवार
हेटोंडा । मकवानपुर जिल्लाको गाउँ गाउँमा चुनाबी माहोल तात्दै छ । बैशाख ३० गते हुने स्थानीय तहको चुनाबका लागि सबै राजनीतिक दलका नेता कार्यकर्ताहरु जनताको घरदैलोमा जान थालेका छन् ।
चुनाबको दिन आउन अब धेरै दिन बाँकी छैन । त्यसैले पनि मकवानपुरका दश वटै स्थानीय तहमा आफ्ना घोषणा पत्र र प्रतिबद्धता लिएर नेता कार्यकर्ताहरु घरदैलोमा पुग्न थालेका हुन् ।
मकवानपुरका कांग्रेस लगायतकाको गठबन्धन, नेकपा एमाले, राप्रपा, जसपा लगायतका दलहरु चुनाबी अभियानमा जुटेका छन् । यो अभियान अनुसार चुनाबी प्रचार प्रसारमा हरेक दिन बिहानै देखि बेलुका सम्म कार्यतालिका बनाएर जनताको घरदैलोमा पुगेको हेटौंडा उपमहानगरपालिकामा उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले बताउनुभयो ।
हेटौंडामा एमालेको चुनाबी अभियान १९ वटै वडामा तिब्र गतिमा अगाडी बढेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो । त्यसैगरी मकवानपुरको अरु नौ वटा स्थानीय तहमा पनि चुनाबी गतिबिधि धेरै बढेको छ । चुनाबी प्रचार प्रसारको अभियान अनुसार हेटौंडाका प्रत्यक वडामा पुग्नेगरी कार्यतालिका बनाएर अभियानमा जुटेको गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार मिना कुमारी लामाले बताउनुभयो ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर सहित विभिन्न पदमा ३ सय ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडाको १९ वटै वडामा सत्तारुढ गठबन्धन, नेकपा एमाले, जनता समाजवादी, राप्रपालगायत विभिन्न राजनीतिक दलको तर्फबाट र स्वतन्त्र तर्फबाट आ–आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा २१ जना र उपमेयर पदमा ११ जनाको उम्मेदवारी दर्ता भएको छ । मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्दप्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दीपा लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्जिव खरालले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट कबिराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य, देवराज पौडेल, सञ्जय खरेल, सुरक्षा रिजाल, विश्वनाथ पाण्डे र प्रदिप ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
हेटौंडाको उपमेयर पदमा ११ जनाको उम्मेदवारी परेको छ । उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका राजेश बानियाँ, नेकपा एमालेबाट सुमित्रा काफ्ले, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेकपा समाजवादीबाट मखकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेकपा मालेबाट अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट हरिहर खतिवडा, राप्रपाबाट इन्दिरा न्यौपाने र लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै स्वतन्त्र तर्फबाट सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।