मकवानपुरका १०२ वटै वडा सम्म गठबन्धनको तयारी गरेपनि केही स्थानीय तहमा हुन सकेन गठबन्धन

हेटौंडा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मकवानपुरका १०२ वटै वडा सम्म गठबन्धनको तयारी गरेपनि सबै स्थानीय तहमै गठबन्धन हुन सकेको छैन । जिल्लाका केही धेरै जसो स्थानीय तहमा गठबन्धन गरेपनि सबै स्थानीय तहमै गठबन्धन हुन नसकेको हो ।
मकवानपुरको मनहरी, कैलाश, बकैयाँ लगायतका स्थानीय तहमा गठबन्धन हुन सकेको छैन । सत्तारुढ दलका कार्यकर्ताहरुले छुट्टा छुट्टै रुपमा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । कुनै स्थानीय तहमा दुइ वा दुइ भन्दा बढी दलहरुका बिचमा गठबन्धन भएपनि केही स्थानीय तहमा गठबन्धन हुन नसकेको हो । स्थानीय तहमा उम्मेदवारी दिने कुरा पार्टीका जिल्ला र प्रदेशको दबाबमा गठबन्धन गर्न खोज्दा कुरा नमिलेको नेताहरुले बताएका छन् ।
सत्तासिन दल नेकपा माओवादी केन्द्रले मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्षमा लक्ष्मी माझी र उपाध्यक्षमा भक्त खत्रीलाई उठाएको छ । ५ दलीय गठबन्धनमा रहेको केन्द्रले यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बकैयाको अध्यक्षको लागि माझी र उपाध्यक्षको लागि खत्रीलाई सर्वसम्मत उठाउने निर्णय गर्दै उम्मेद्वारी दर्ता गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय गौतमले जानकारी दिए ।
उनका अनुसार उम्मेदवारी दर्ताको अन्तिम दिन सोमबार गठबन्धनमा आवद्ध कांग्रेससंग अन्तिम सम्म पनि सहमति हुन नसकेपछि गठबन्धनमा आबद्ध दुबै दलले उम्मेद्वारी दिएको हो ।
‘सहमतिको लागि समय नपुगेपछि,दुबै दलले आ आफ्नो उम्मेद्वार दर्ता गरेको हो । फेरी भोली पनि बैठक बस्छौ सहमति नजिक छौ । सहमति भएको अवस्थामा उम्मेद्वारी फिर्ता गर्नेछौ । केन्द्रीय सदस्य गौतमले भने,हाम्रो माग अध्यक्ष या उपाध्यक्ष मध्ये एक हो । र १२ वटा वडा मध्ये गठबन्धन मिलेको अवस्थामा ६ वटा वडामा हाम्रो दाबी हो ।’
यता जसपाले मकवानपुरमा सत्ताधारी दलहरुसंग गठबन्धननै गरेको छैन । सबैतिर आफ्ना दलका कार्याकर्ताले उम्मेदवारी दर्ता गरेको बताएका छन् । मकवानपुरका सबै जसो स्थानीय तहको वडा स्तरमा गठबन्धन र एमालेका पनि बागी उम्मेदवारी परेको छ ।