मेलम्चीकाे पानी आधाभन्दा बढी ठाउँमा पुरानै पाइपमार्फत वितरण गरिने

जनपत्र
९ बैशाख २०७९, शुक्रबार १८:३८

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी आधाभन्दा बढी ठाउँमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ ।

एक हजार १० किलोमिटर लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ । पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

गएको असारमा बाढीका कारण मेलम्चीको पानी बन्द भएपछि पनि विभिन्न ठाउँमा पाइप परीक्षण गरिएको निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

नयाँ पाइपबाट वितरण हुने क्षेत्रमा नक्साल, कमलपोखरी, दरबारमार्ग, नयाँ सडक, डिल्लीबजार, गौशाला, अनामनगर, तीलगङ्गा, चक्रपथ, बबरमहल, कोटेश्वर, नरेफाँट लगायतका ठाउँ छन् । सुन्दरीजलमा आउने पानीमध्ये केही पुरानो पाइप, नयाँ पाइप र केहीकेही पानी परीक्षणका लागि छुट्याइने भएको छ ।

अहिले तीन करोड ८० लाख लिटर पानी नयाँ पाइपबाट र १० करोड लिटर पानी पुरानो पाइपबाट परीक्षण गरिने उपनिर्देशक श्रेष्ठले बताउनुभयो । समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ ।

मेलम्चीको पानी नियमित रुपमा ल्याउनसके काठमाण्डौ उपत्यकामा खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको श्रेष्ठले बताउनुभयो । समितिले आइतवारदेखि मेलम्चीको पानी वितरण गर्ने लक्ष्य लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*