सांस्कृतिक कार्यक्रम सहित हेटौंडा-१० मा एमालेको चुनावी प्रचार सुरु

हेटौंडा । विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेकपा एमाले हेटौंडा १० नम्बर वडा कमिटीले चुनावी प्रचार प्रसार सुरु गरेको छ । आज हेटौंडा–१० स्थित न्युरेनी टोलमा एमालेको वडा कमिटीले चुनावी कार्यक्रमको आयोजना गरेको हो ।
नेकपा एमाले हेटौंडा १० नम्बर वडा कमिटीका अध्यक्ष राजकुमार बिश्वकर्माको सभाध्यक्षतामा भएको सांस्कृतिक तथा आम सभा कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष श्रेष्ठले जनताको बिश्वासलाई एमालेले नतोड्ने बताउनुभएको छ । आज हामीले मुलुकको बिकास र टोल टोलको बिकासको कुरा गरिरहँदा एमालेको मुल नारा पनि यहि भएको बताउनुभयो ।
नेकपा एमालेले जनताको अनुहारमा हाँसो कसरी ल्याउने, हाम्रो पीडा र ब्यथाहरु कसरी निर्मुल पार्ने, हाम्रो स्वास्थ्य, रोजगारी तथा सम्पुर्ण आवश्यकताहरु पूरा गर्न नेकपा एमाले मात्र सक्षम रहेको उहाँले दाबी समेत गर्नुभयो । नेकपा एमालेसँग यहि क्षमता छ, समृद्ध देश बनाउने भिजन छ भन्ने कुराको जनतामा रहेको बिश्वास एमालेले नतोड्ने उहाँले प्रष्ट पार्नुभयो । आसन्न स्थानीय तहको निर्वाचनमा सबै क्षेत्रमा एमाले बहुमतका साथ बिजयी हुने र निरन्तर बिकास निर्माणको काममा एमाले लाग्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
हेटौंडा–१० मा गत ५ वर्षमा भएका विकास निर्माणका कामका आधारमा पनि अबको निर्वाचनमा नेकपा एमालेको बिकल्प नभएको एमाले मकवानपुर जिल्ला सदस्य तथा हेटौंडा उपमहानगरपालिकाको लागि एमालेबाट प्रस्तावित उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले बताउनुभयो । गत ५ वर्षमा वडा तथा नगरका जनप्रतिनिधि, एमाले नेतृत्वको बागमती प्रदेश सरकारले वडाबासीहरुले प्रत्याभूति गर्न सक्ने गरि काम भएको उहाँको भनाई छ ।
अहिले एमालेलाई पराजित गर्नकै लागि जनमानसमा गठबन्धनको त्रास फैलाउने कार्य भईरहेको भन्नुहुँदै उहाँले हामी कोही पनि गठबन्धनसँग डराउन नपर्ने बताउनुभयो । यदी उनीहरु सक्षम, शक्तिशाली र असल हुन्थे भने बैशाखीको साहारा लिए झैं ५ दलको गठबन्धन बनाएर आउनुपर्ने आवश्यकता नरहेको उहाँले भनाई ब्यक्त गर्नुभयो । त्यसैले सबै जनाले बास्तबिकता बुझेर एमालेका उम्मेदवारलाई नै भोट दिन पनि काफ्लेले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठले जिल्ला सचिवालय सदस्य तथा नेकपा एमाले हेटौंडा १० प्रचार प्रसार कमिटी संयोजक इन्द्र नेपाललाई पार्टी र चुनाव चिन्ह अंकित झण्डा हस्तान्तरण गर्नुहुँदै प्रचार प्रसारको कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल जनसांस्कृतिक महासंघका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कलाकारहरु सहितको टोली लिएर एमालेको वडा कमिटीले हेटौंडा(१० को टोल टोलमा प्रचार प्रसार कार्यक्रम गर्ने जनाइएको छ ।