किन बढ्दै छ कांग्रेसमा गठबन्धनविरोधी मत ? निकटकै नेता देउवासँग असन्तुष्ट !

कांग्रेस सभापति शेरबहादुर देउवाले कास्की र चितवनका जिल्लास्तरीय नेतालाई मंगलबार बिहान काठमाडौं बोलाए । छुट्टाछुट्टै छलफल गरे भरतपुर र पोखरा महानगरपालिका कांग्रेसले छाड्नुपर्ने प्रस्ताव गरे ।
दुवै जिल्लाका नेताहरुले प्रतिवाद गरे तर सकेनन् । अन्ततः ती दुवै महानगरको नेतृत्व कांग्रेसले छाड्नुपर्ने भएको छ । त्यसको विरोधमा बुधबार कास्कीमा रहेको जिल्ला कार्यालयमा तालाबन्दी पनि भयो ।
पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीलाई दिने निर्णय भएपछि विरोधस्वरुप तालाबन्दी भएको हो ।
चितवन कांग्रेसले पनि यसअघिको निर्णय फिर्ता नलिने भन्दै केन्द्रको निर्णयलाई तल्लो तहका कार्यकर्ताले स्वीकार गर्न नसक्ने चेतावनी दिएको छ ।
यी उदाहरणमात्रै हुन् । अहिले बालुवाटारमा उपमहानगरको बाँडफाँटका लागि छलफल भइरहँदा जिल्ला जिल्लामा असन्तुष्टि बढेका खबर सार्वजनिक भइरहेका छन् । महाधिवेशन अघिसम्म संस्थापनइतर पक्षले गठबन्धन नगरी बहुमत ल्याउने पार्टी बनाउने महाधिवेशनको नारा बनाएको थियो ।
तर, त्यो चुनावी नाराबाट महाधिवेशन जित्न असफल भएको त्यो पक्ष गठबन्धनका विपक्षमा पार्टीभित्र मत बनाउन भने सफल देखिएको छ ।
महाधिवेशनपछि मसिनो बनेको गठबन्धन विरोधी आवाज चुनाव नजिकिदै जाँदा अझ चर्किँदो छ । संस्थापनइतर पक्षले गठबन्धन गर्नै नहुनेबाट गठबन्धन गर्ने नै भए स्थानीय तहलाई नै जिम्मा दिनुपर्ने मत बनाएको छ । तर, संस्थापनकै कतिपय नेताहरु गठबन्धन गर्नै नहुने पक्षमा देखिएका छन् ।
संस्थापन पक्षका नेता तथा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सुदूरपश्चिममा गठबन्धन नहुने घोषणा गरेर प्रदेशभर अभियान समेत चलाएका थिए । तर, उनी अहिले गठबन्धनका पक्षमा फर्किइसकेका छन् । प्रदेश सरकारमा कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्रीसहित तीनजनाको सहभागिता पछि उनी गठबन्धनमा कांग्रेसले सम्मानजनक उपस्थिति जनाउनुपर्ने बताउन थालेका छन् ।
तर, देउवा निकटकै नेता रमेश रिजाल, सहमहामन्त्री किशोरसिंह राठौरदेखि यसअघि गठबन्धनप्रति लचक देखिएका महामन्त्री विश्वप्रकाश शर्मासम्म गठबन्धनका विरुद्धमा उभिएका छन् । उनीहरुले पार्टीको मतको रक्षा गर्न, नयाँ भोटरलाई कांग्रेसमा आकर्षण गर्न र भावि पुस्तालाईसमेत बलियो कांग्रेस छोड्न गठबन्धन गर्नु नहुने तर्क गरेका छन् ।
सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्दा कांग्रेसले ६ मध्ये तीन महानगरपालिका छोड्नुपर्ने अवस्था छ । त्यस्तै ११ उपमहानगरपालिकामा पनि ५ देखि ६ वटामा कांग्रेसको प्रमुख पदमा उमेदवार नै नहुने अवस्था गठबन्धनका कारण बन्न सक्ने भन्दै विरोध गर्नुपरेको एक नेताले बताए ।
यस्तै गठबन्धनका दलहरुबीच सममनजनक भागवण्डा गरे कांग्रेसले ७५३ स्थानीय तहमध्ये करिब ५२ प्रतिशतमा मात्रै प्रमुख पद पाउने अवस्था छ । यसले देशभरका कांग्रेस कार्यकर्ताहरुलाई चिन्ता बढाएको ती नेताको प्रतिक्रिया छ ।
त्यसकारण पनि अहिले स्थानीय तहदेखि नै विरोधका स्वर सुनिन लागेको उनको तर्क छ ।
चितवनको भरतपुर माओवादी केन्द्रलाई फेरि दिन नहुने भन्दै सुरु भएको विरोध अहिले इटहरी, विराटनगर, जनकपुर, पोखरा, नेपालगञ्ज हुँदै केन्द्रसम्म आएको छ । भरतपुरमा त ५० जना कांग्रेसका नेता कार्यकर्ताले पार्टी नेतृत्वको गठबन्धन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै सामूहिक राजीनामा दिएका छन् ।
भरतपुर महानगरका सबै वडा सभापतिले गठबन्धन भए स्वतन्त्र उमेदवार उठाउने घोषणा गरेका छन् ।
चितवनबाट प्रतिनिधित्व गर्ने कांग्रेसका छ जना केन्द्रीय सदस्यदेखि जिल्ला कार्यसमिति, महानगरसमिति र जिल्लाका सबै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको भेलाले पनि भरतपुरमा आफ्नै नेतृत्वमा चुनावमा जाने निर्णय गरेर केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराइसकेका छन् ।
तर, सभापति देउवा भने गठबन्धन नभए संघीय सरकार ढल्ने भन्दै गठबन्धनविरुद्ध नबोल्न र गतिविधि नगर्न निर्देशन दिइरहेका छन् । चितवनबाट प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदस्य देउवा निकटका छन् । उनीहरु देउवालाई गठबन्धनको निर्णयले पार्टीलाई दीर्घकालीन क्षति हुने बताइरहेका छन् ।
गत शनिबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा देउवा नकिटकै नेता रमेश रिजालले पनि गठबन्धनका कारण पार्टीलाई क्षति हुने अवस्थामा नपुर्याउन सभापति देउवालाई सुझाव दिएका थिए ।
“विगत चुनावमै वीरगन्जमा हामी जम्मा दुईहजार मतले पछाडि परेका हौँ । यसपटक अरु मिलेर आउँदा पनि हामीले चुनाव जित्ने अवस्था छ । यस्तो ठाउँ गठबन्धन गरेर अरुलाई बुझाउनु हाम्रा लागि घातक हुन्छ,” रिजालको भनाई उद्धृत गर्दै कांग्रेसको कार्यसम्पादन समितिका एक सदस्यले भने, “आजको पुस्तामा हामी लज्जित हुनुपर्छ । तर, भोलिको पुस्ता कांग्रेससँग गर्व नै नगर्ने अवस्था आउन सक्छ ।”
उनले कांग्रेसकै सन्तानले कांग्रेस छोडेर आफूलाई सुरक्षित गर्नुपर्ने अवस्था आए त्यो दुर्भाग्यपूर्ण हुने समेत बताएका थिए ।
रिजाललाई यसबारे जिज्ञासा राख्दा बैठकमा आन्तरिकरुपमा बोलेका विषय बाहिर सार्वजनिक नगर्ने बताए । त्यसो भए गठबन्धन गरेर जाँदा ठिक होला त भन्ने प्रश्नमा रिजालले खुलेर गठबन्धनका विपक्षमा आफू रहेको बताए ।
“म मधेस प्रदेशको मान्छे हो । मधेस प्रदेशमा गठबन्धन नगर्ने हो भने कांग्रेस धेरै ठाउँ जित्छ,” रिजालले भने, “वीरगन्ज महानगरपालिकामा त कांग्रेस विगतमै दुइहजार मतले हारेको हो । यसपटक हामी एक्लै चुनावमा जाँदा १० हजार मतले जित्न सक्छौँ ।”
उनले मधेसमा अन्यत्र पनि कांग्रेसको राम्रै्र अवस्था रहेको भन्दै गठबन्धन गरेर नेतृत्व नै अरुलाई दिँदा पार्टीलाई क्षति हुने बताए ।
“अव गठबन्धन गर्ने नगर्ने सबै केन्द्रबाट हुने हो । म पार्टीको सिपाहीका हिसाबले निर्णय त मान्नु नै पर्छ,” रिजालले भने ।
कांग्रेसमा संस्थापन पक्षका पनि उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा। प्रकाशशरण महत, नेता बालकृष्ण खाँण, संचारमन्त्री समेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मात्र सभापति देउवालाई दह्रो साथ दिएका छन् ।
उनीहरु देउवालाई गठबन्धनविरुद्ध ज्ञापन पत्र बुझाउन आउनेलाई सरकार ढल्ने त्रास देखाउनेदेखि चुनाव जित्न सक्छौँ भनेर हप्काउनेसम्मका काममा लागि रहेको भेटमा सहभागी एक नेताले बताए ।
पोखराबाट नेतृत्व छोडेर गठबन्धन नगर्न ज्ञापनपत्र बुझाउने टोलीलाई गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले गठबन्धन नभए प्रदेश देखि केन्द्रसम्मका सरकार ढल्ने र कांग्रेस सडकबाट चुनाव लड्दा कम्युनिष्टको पेलानमा पर्ने भन्दै गठबन्धनका पक्षमा सम्झौता गर्न बाध्य भएको बताएका थिए । उनले सबैतिरका सरकार ढले जिल्लामा पनि चुनाव लड्न गाह्रो हुने भन्दै गठबन्धनका विपक्षमा माहोल नबनाउन आग्रह गरेका थिए ।
तर, उपसभापति पुर्णबहादुर खड्काले भने एक्लै चुनाव जित्ने ग्यारेन्टी लिन्छौ रु एकल उमेदवार दिन सक्छौ रु जस्ता प्रश्न गरेका थिए ।
“गठबन्धन भएन भने संघीयसहित प्रदेश सरकारहरु ढल्न सक्छन्,” खड्काको भनाई उद्धृत गर्दै पोखराका एक कांग्रेस नेताले भने, “संघीय सरकार ठूलो कि तपाईंको महानगरको मेयर रु” उनले उपसभासति खड्काले बृहत्तर हितका लागि केही अप्ठ्यारा सहनुपर्ने पनि जवाफ दिएका थिए ।
सहमहामन्त्री किशोर सिंह राठौरले त गठबन्धन–गठबन्धन भनेर पार्टीको अवस्था कमजोर नपार्न नेताहरुको ध्यानाकर्षण नै गराएका थिए ।
“किशोरजीले त ज्ञानेन्द्रबहादुर कार्कीतर्फ इङगित नै गरेर सरकारका गतिविधिमाथि प्रश्न उठाउनुभएको थियो,” एक कांग्रेस नेताले भने, “उहाँले सरकार गठबन्धन गरेर पार्टी कमजोर पार्नका लागि बनेको होइन । बरु हामी अहिले सरकारबाट बाहिरिए पनि भोलि सरकारमा जान सक्छौँ । तर, पार्टी कमजोर भयो भने सदाका लागि सडकमा पुग्न सक्छौ ।”
उनले जिल्लामा रहेका नेताहरुलाई बाइपास गरेर सरकारले गर्ने कामले पार्टीलाई फाइदा नगर्ने बताएका थिए ।
कांग्रेस नेता बलबहादुर केसी भने ज–जसले पार्टी एक्लै चुनावमा जानुपर्छ भने पनि सभापति देउवा सुन्ने पक्षमा नदेखिएको बताए ।
“संस्थापनइतर पक्षले जे भने पनि उहाँले विरोधिका आवाज भनेर पन्साउनुभएको छ, त्यसको सुुनुवाई गरिरहनुभएको छैन,” केसीले भने, “उहाँकै निकट नेताहरु पनि गठबन्धनका विपक्षमा हुनुहुन्छ । पार्टीको हितका पक्षमा उभिनुभएको छ । तर, सभापति त्यसलाई पनि बेवास्ता गरेर गठबन्धन गठबन्धन भनिरहनुभएको छ ।”
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा चुनावी गठबन्धनको चर्चा हुँदा सुरुवाति चरणमा गठबन्धनका विषयमा मौन थिए । तर, शनिबारको कार्यसम्पादन समिति बैठकमा उनले पनि गठबन्धनले पार्टीलाई हित नगर्ने अवस्थामा मैत्रीपूर्ण प्रतिस्पर्धा एकमात्र विकल्प भएको बताएका थिए ।
“गठबन्धनका दलहरु आफ्नो मत अनुसारको हैसियतस्वीकार गर्दैनन् भने मैत्रीपूर्ण प्रतिस्पर्धा एकमात्र विकल्प हुन सक्छ,” शर्माको भनाई थियो, “गठबन्धनबाटै चुनावमा जानुपर्ने अनि कांग्रेसले नै नेतृत्व छोड्नपर्ने कुरा हामीले स्वीकार गरे पनि हाम्रा स्थानीय साथीहरुले स्वीकार गर्नुहुन्न ।”
उनले विगतमा महामन्त्री शर्मा खुलेर नबोले पनि शनिबारको बैठकमा भने गठबन्धन विरुद्ध खुलेर कुरा राखेको बताए ।
संस्थापनइतर पक्षका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, गगन थापासहितका नेताहरु भने देशभर कांग्रेसको मत गठबन्धनका विपक्षमा रहेको भन्दै गठबन्धनको क्षति बेहोर्ने भन्दा चुनावमा पराजय स्वीकार्नु सुरक्षित बाटो हुने बताएका थिए ।बाह्रखरीबाट साभार