आर्मीलाई मुख्यमन्त्री कबड्डीको उपाधि
विभागीय त्रिभुवन आर्मी क्लबले मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।
कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले १ लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एफिएफले ८० हजारमा चित्त बुझाएको छ । सेमीफाइनल पुगेका दुई टोली सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशले समान ४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताका विजयी खेलाडीलाई सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहोरा, सुदूर पश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंह र कैलाली जिल्ला कबड्डी संघका अध्यक्ष कमल पन्तलगायतले पुरस्कृत गरे ।