नापतौल कार्यालय हेटौंडामा राख्न माग

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठलाई नापतौल कार्यालय हेटौंडामा राख्न अनुरोधसहित ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा सचिव माधव ज्ञवाली, कार्यसमिति सदस्य प्रदिप अर्याल र कार्यकारी सचिव पवन कार्की सम्मिलित टोलीले मन्त्रालय पुगी अनुरोध गरेको थियो । मन्त्री मिलन बाबु श्रेष्ठले नापतौल कार्यालय हेटौंडामा राख्नको लागि आफूले काम अघि बढाउने टोलीलाई बताउनु भएको छ ।
देश संघीयतामा गएपनि नापतौल कार्यालय हेटौंडामा नरहेकोले बागमती प्रदेशअन्तर्गत मकवानपुरका उद्योगी÷व्यवसायी अर्को प्रदेशमा गएर नापतौल उपकरणहरुको दर्ता नविकरण गर्न वाध्य भएको जिकिर गरिएको थियो ।
नापतौल कार्यालय नहुँदा उद्योगी÷व्यवसायीहरुले ढक, काँटा, लिटर, मिटर जस्ता बिक्रीको क्रममा मापन गर्ने उपकरणहरुको नापजाँचको लागि असहजता भोग्दै आएका छन् । अनावश्यक झन्झट तथा जरिवाना पनि व्यहोर्दै आएका छन् । कतिपय समयमा अद्यावधिक भएका नियमहरु समयमै जानकारी नपाउँदा ठूलो जरिवाना र त्रासको अवस्था सिर्जना हुने गरेको अध्यक्ष गुप्ताले बताउनु भयो ।
हाल नापतौल कार्यालय मधेस प्रदेशको वीरगंजमा रहेको छ । जसको कारण सहज समन्वय छैन । नापतौलका उपकरणहरुको दर्ता र नविकरण शुल्क पनि यसरी अरु प्रदेशमा बुझाउन जान परेको अवस्था संघीयताको हिसावले पनि सहि नभएको अध्यक्ष गुप्ताको भनाइ रहेको थियो । हेटौंडामा नापतौल कार्यालय नहुनू र सोही कार्यालयको मापदण्ड पुरा नगरेको भनि कतिपय समयमा कारवाही हुनू न्यायपूर्ण नभएको उहा“ले बताउनु भयो । त्यसैले नापतौल कार्यालय हेटौंडामा आवश्यक रहेको उहा“को जिकिर रहेको थियो ।