काठमाण्डौको बाइसधारामा दर्शनार्थीको भिड : हाँडी गाउँमा गहना खोज्ने जात्रा

जनपत्र
३ बैशाख २०७९, शनिबार ०८:०३

काठमाण्डाै – आज चैतशुक्ल पूर्णिमा, उपत्यकाका विभिन्न ठाउँमा जात्रा हुँदैछ भने बालाजुको बाइसधारामा मेला भइरहेको छ ।

बाइसधारामा नुहाउनको लागि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । आजका दिन बाइसधारामा  नुहाएर नागार्जुन पहाड चढ्न जाने चलन छ ।

त्यस्तै, काठमाण्डौको हाँडी गाउँमा आज गहना खोज्ने जात्रा हुँदैछ । दिउँसो हाँडीगाउँमा रहेको पोखरीमा गहना फालेर खोज्ने गरिन्छ ।

किंवदन्ती अनुसार नुहाउने क्रममा टुँडालदेवीको गहना पोखरीमा खसेको र त्यही गहना खोज्ने प्रतीक अनुसार हरेक वर्ष आजका दिन गहना खोज्ने जात्रा हुने गर्दछ । गहना खोज्ने क्रममा टुँडालदेवीको खटलाई  सिन्दुर जात्रा गरेर पोखरीमा डुबाइन्छ ।

त्यस्तै, आज नयाँबजारमा  म्हय्पि अजिमाको पनि जात्रा हुँदैछ । साँखुमा बज्रयोगिनी देवीको जात्रा हुँदैछ । आज बज्रयोगिनी देवीलाई मन्दिरबाट निकालेर सिहिणी, ब्राधिनीसहित जात्रा गरिनेछ। यता, ललितपुरको सुनाकोठीमा भएको बालकुमारी जात्राको क्रममा आज बेलुकी लिङ्गो ढालिँदैछ ।

महादेवको प्रतीकको रुपमा ठड्याएको लिङ्गोलाई आज ढालिने चलन छ । त्यस्तै आज बेलुकी बालकुमारी देवीलाई मन्दिरमा प्रतिस्थापन गरिँदैछ । हिजो बालकुमारी देवीलाई खटमा राखेर सुनाकोठीको विभिन्न ठाउँमा सिन्दुर जात्रा गरिएको हो ।

त्यस्तै, ललितपुरको चापागाउँमा पनि बज्रबाराहीको जात्रा हुँदैछ । हिजोदेखि सुरु भएको जात्राको क्रममा आज बज्रबाराहीलाई खटमा राखेर चापागाउँको विभिन्न ठाउँमा परिक्रमा गरिनेछ ।

त्यस्तै, लेलेमा जयलकुमारी र बालकुमारीको पनि जात्रा हुँदैछ । किंवदन्ती अनुसार जयलकुमारी र बालकुमारीलाई टीका भैरवको श्रीमती मानिन्छ । त्यस्तै आज दोलखामा रातो मच्छिन्द्रनाथको महास्नान हुँदैछ भने ललितपुरमा रातो मच्छिन्द्रनाथको महास्नान भोलि हुँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*