ब्रेकअपपछि महिलाको तुलनामा पुरुषहरु लामोसमयसम्म तनावमा रहन्छन् : अध्ययन

जनपत्र
३१ जेष्ठ २०७६, शुक्रबार ०६:५७

प्रेम हुनु अनि ब्रेकअप हुनु अहिले स्वाभाविकजस्तै भइसकेको छ । यस्ता खालका घटनाहरु समाजमा भइरहेकै हुन्छन् । ब्रेकअपपछि केटा-केटी दुबैलाई फरक किसिमको समस्या हुने कुरा विज्ञानले बताइसकेको छ । तर हालसालैको नयाँ अध्ययनले भने पुरुषभन्दा महिलालाई ब्रेकअपले शारीरिक तथा मानसिक रुपमा बढी पीडा महसुस हुने जनाएको छ । उनीहरु सोही पीडाबाट पुरुषको तुलनामा चाँडै निस्किने पनि अध्ययनले देखाएको छ ।

बिंघम्टन युनिभर्सिटी र युनिभर्सिटी कलेज लण्डनका अध्ययनकर्ताहरुले ९६ देशका पाँच हजार सात सय पाँच जनाको अन्तर्वार्ता लिएका थिए । सोही अन्तर्वार्ता अनुसार ब्रेकअपले दिएको शारीरिक र मानसिक पीडालाई एकदेखि दश स्केलमा मापन गरिएको थियो ।

महिलामा हुने असर

अध्ययनले बताए अनुसार महिलालाई ब्रेकअपले बढी तनाव दिन्छ । शारीरिक र मानसिक दुबै रुपले महिलाहरु कमजोर हुन्छन् । ब्रेकअपपछि महिलालाई हुने शारीरिक र मानसिक पीडालाई ६.८४ रेट दिइएको थियो तर पुरुष भने ६.५८ मा थिए । महिलाहरुलाई ब्रेकअपपछि बढी पीडा भए पनि यस तनावबाट उनीहरु पुरुषको तुलनामा चाँडै मुक्त हुने अध्ययनले देखाएको छ ।

पुरुषमा हुने असर 

ब्रेकअपले पुरुषलाई महिलाको तुलनामा कम पीडा दिए पनि उनीहरु यस समस्याबाट पछिसम्म ग्रसित हुन्छन् । उनीहरु पीडाबाट भाग्न अल्कोहललगायतका नशालु पदार्थ सेवन गर्ने गरेको पाइएको छ । उनीहरु आफ्नो खास अवस्थाबाट भाग्न चाहन्छन् ।

अध्ययनका अनुसार महिलाको तुलनामा पुरुषलाई ब्रेकअपबाट मुक्त हुनलाई निकै संघर्ष गर्नुपर्दछ । महिलाहरु सम्बन्धमा धेरै जिम्मेवार हुन्छन् जसले गर्दा उनीहरुलाई पुरुषको तुलनामा धेरै पीडा भोग्नुपर्छ । पुरुषहरुलाई ब्रेकअपको पीडा कम भए पनि यसबाट मुक्त हुन निकै समय लाग्छ ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*