एमालेबाट हेटौंडाको मेयरमा महत, पौडेल र प्रधान सिफारिस
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को हेटौंडा उपमहानगरपालिका कमिटी बैठकले हेटौंडाको मेयरमा बर्तमान मेयर हरि बहादुर महत, संबिधान सभाका सदस्य अनन्त पौडेल र एमाले मकवानपुरका पुराना नेता गणेश कुमारी प्रधानलाई सिफारिस गरेको छ । एमालेका नौ जना नेताहरुले चैत २७ गतेको बैठकमा मेयरमा उमेदवारी दिने आकाक्षा देखाएपनि ६ जनाले सहमतीका आधारमा तीन जनाको नाम सिफारिस गर्न तयार भएपछी तीन जनाको मात्र नाम सिफारिस गरिएको हो ।
मंगलबार भएको बैठकमा सर्वसम्मत मेयरको उम्मेदवार चयन गर्न नसकेपछि उपमहानगर कमिटीले तीनजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । आजको बैठकले उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ । उपमेयरमा पनि सात जनाले आकाक्षा देखाएका थिए ।
सहमतीका आधारमा तीन जनाको नाम सिफारिस गरिएको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले अब एक भएर एमालेलाई जिताउन आफुहरु लागिपर्ने बताउनुभयो । यसैगरी एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले मकवानपुरका दश वटै स्थानीय तहमा एमालेको जित सुनिश्चत रहेको बताउनुभयो ।







