स्थानीय बासिन्दाको दबाबपछि बन्दै सडक

जनपत्र
२८ चैत्र २०७८, सोमबार १३:३४

२०७३ सालमा चापागाउँ–लगनखेल सडक विस्तार गरेर कतै २० मिटर तथा कतै २२ मिटर बनाउने निर्णय गरियो । त्यस्तै सातदोबाटो–गोदावरी सडक खण्ड विस्तारको निर्णय २०७४ सालमा भएको हो । त्यहाँ पनि कतै २० तथा कतै २२ मिटर सडक विस्तार गर्ने निर्णय भयो ।

सडक विभाग अन्तर्गत उपत्यका सडक विस्तार आयोजना प्रमुख कृष्णनाथ ओझाका अनुसार स्थानीयवासीको विरोधका कारण सडक विस्तार हुन नसकेपछि चापागाउँ सडक २०७६ पुष ३ गते तथा गाेदावरी सडक २०७७ चैत १ गते मन्त्रिपरिषद्ले जे जति चौडाइ उपलब्ध छ त्यसमा कालोपत्रे गर्ने भन्ने निर्णय गर्यो । मन्त्रिपरिषदबाट उपलब्ध चौडाइमा सडक कालोपत्रे गर्ने निर्णय भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण यी दुवै खण्ड लामो समयसम्म कालोपत्रे भएन।

सामाजिक सञ्जालको प्रभाव

२०७३ सालमा सडक विस्तार गर्न सुरु गरिएको ललितपुरको लगनखेल–चापागाउँ सडक अन्तर्गत ढोलाहिटी–सुनाकोठी खण्ड लामो समयसम्म नबनेपछि स्थानीयवासीले दबाब सिर्जना गर्नका लागि भनेर २०७७ साल भदौ १६ गते सामाजिक सञ्जाल फेसबुकमा सुनाकोठी बाटो नाम राखेर फेसबुक पेज बनाए ।

चापागाउँ दोबाटोबाट लगनखेल जाने करिब पाँचसय मिटर सडक पिच नभएपछि स्थानीयले बाटो खनेर बन्द गरेको तस्बिर राखेर अब हामीले पनि यसरी नै दबाब दिनुपर्छ भनेर पेजमा पोष्ट गरियो । अनि सुरु भयो सुनाकोठी खण्डको बाटो बन्ने अभियान ।

स्थानीयवासी सुनिता खड्का भन्नुहुन्छ, ‘अहिले इन्टरनेट तथा सामाजिक सञ्जालको समय भएका कारण फेसबुक पेजमार्फत अभियान सञ्चालन गर्दा प्रभावकारी हुन्छ भन्ने लागेर पेज बनाइएको हो । जुन प्रभावकारी पनि देखियो ।’

नभन्दै फेसबुक पेज बनाएर थालेको अभियानले सार्थक रुप लियो । फेसबुक पेजमार्फत लामो समय बाटो नबनेका कारण सम्बन्धित ठेकेदार पक्षले सुनुवाइ नगरेमा बन्द गर्ने अवस्था आउन सक्ने बारेमा सचेत पनि गराइयो । यसमा कतैबाट पनि सुनुवाइ भएन ।

फलस्वरुप फेसबुक पेज निर्माण भएको २० दिनपछि अर्थात २०७७ असोज ४ गते बाटो पूर्ण रुपमा बन्द गरियो । असारको समय भएका कारण र बाटोमा जताततै ठूला खाल्डा र धान रोपाइँ गरी विरोधको नयाँ शैली पनि अपनाइयो ।

दबाबपछि काम सुरु

बाटो बन्द गरिएको भोलिपल्ट अर्थात असोज ५ गते ललितपुर महानगरपालिका वडा नं २७ वडा कार्यालयमा वडा अध्यक्ष, ठेकेदार कम्पनीका प्रतिनिधि र स्थानीयवासी तथा दुई जना प्रदेश सभासद समेत रहेको बैठकले ६ बुँदे प्रस्ताव पारित गर्यो । प्रस्तावमा पहिले बाटोलाई सामान्य अवस्थामा गाडी चलाउन मिल्ने गरी खाल्डा पुर्नेदेखि पिच गर्नेसम्मका प्रस्तावहरु थिए ।

बर्खा, कोभिड तथा सामान नपाइने विभिन्न कारण देखाउँदै पुनः काम भएन । विरोध र दबाबका काम पनि चलिरहे । बन्द र विरोधको परिणाम बल्ल सात महिनापछि देखियो अर्थात २०७७ माघ २६ गते बाटो पिच भयो ।

स्थानीयवासी खुसी थिए हिलो र धुलो नभएकोमा अनि आफूले गरेको विरोधको सुनुवाइ भएकोमा । तर, उनीहरुको खुसी लामो समय टिक्न सकेन । बाटो कालोपत्रे भएको सात महिना अर्थात २०७८ भदौमा कालोपत्र उप्कियो । अवस्था पुरानै भयो । पानी पर्दा हिलो नपर्दा धुलो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*