भरतपुर महानगरमा कांग्रेसबाटै मेयरको उम्मेदवार हुन्छ: कोइराला

जनपत्र
२७ चैत्र २०७८, आईतवार ०७:२३

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भरतपुर महानगरपालिकामा यसपटक नेपाली कांग्रेसबाट नै उम्मेदवार हुने बताएका छन्।

०७४ को स्थानीय चुनावमा भरतपुरमा कांग्रेसले नेकपा माओवादीका उम्मेदवार रेनु दाहाललाई भोट दिएको थियो।

यसपालि पनि सत्तागठबन्धनबीच स्थानीय चुनावमा मिलेर जाने सहमति भएको छ। तर चितवन कांग्रेसले यसपालि भरतपुर महानगर नछाड्ने बताइरहेका छन्। यसैबीच चितवन कांग्रेसका नेताहरू तथा चितवनबाट केन्द्रीय सदस्य जितेकाहरू भरतपुरको मेयरमा पार्टीकै उम्मेदवार उठाउन पहल गरिरहेका छन्।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखरलाई भेटेर उनीहरूले भरतपुरको मेयर यसपालि अरू पार्टीलाई नदिन आग्रह गरेका हुन्।

शनिबार चितवन कांग्रेस सभापति राजेश्वर खनालसहित नेताहरूले कोइरालालाई भेटेका थिए। भेटमा कोइरालाले यसपालि पार्टीकै उम्मेदवार मेयरमा उठ्ने बताएका थिए। ‘भरतपुरमा पार्टीकै नेता मेयरको उम्मेदवार हुनुहुन्छ, यसमा तपाईंहरू चिन्ता नलिनुस्,’ उनले भनेका थिए।

कांग्रेसले महानगरको टिकट भने केन्द्रबाट दिने गर्छ। टिकट बाँड्ने केन्द्रीय संसदीय समिति भने गठन भएको छैन।

०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने भएकोले कुन महानगर कसले लिने भन्नेमा निर्णय भने भइसकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*