नेकपा शीर्ष नेताहरूको एकै स्वरः ‘प्रतिक्रियावादी सत्ता’ले गराउने चुनावमा भाग लिँदैनौँ
नेत्रविक्रम चन्द नेतृत्व (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले पार्टी निर्वाचनमा नजाने स्पष्ट पारेका छन् । केही दिनअघि कपिलबस्तुमा सम्पन्न केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनबारे गरेको निर्णयलाई लिएर विभिन्न टिका–टिप्पणी भइरहेको बेला शीर्ष नेताहरूले पार्टी निर्वाचनमा नजाने स्पष्ट पारेका हुन् ।
शुक्रबार चितवनमा पार्टीका नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै नेताहरू अहिलेकै अवस्थामा पार्टी निर्वाचनमा नजाने दोहोर्याएका छन् । पार्टीको मुखपत्र रातो खबरमा प्रकाशित समाचारअनुसार महासचिव विप्लवले नेकपाले विकास गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवाद स्थापना गर्ने विषयमा कुनै पनि समस्या नरहेको बताएका छन् ।
‘प्रतिक्रियावादी सत्ताले आफ्नो रक्षाका लागि गराउने चुनावको विषयलाई लिएर आफूहरूले टाउको दुखाउनु जरुरी नभएको उनको भनाइ थियो । ‘हामी क्रान्तिका विषयमा चिन्तित हुनुपर्छ । हामी क्रान्ति जित्ने दिशातर्फ अग्रसर भएका छौ,’ विप्लवको भनाइ थियो, ‘दलाल पुँजीवादले गराउने चुनावको विषयमा क्रान्तिकारीहरूबीच मतभिन्नता आउनु हुँदैन । एमसीसी विरोधी र पक्षधरता बीचमा ध्रुवीकरण गराउनुपर्छ । जनताले नेकपालाई आशाको दृष्टिले हेरेका छन् । जनताको आशा र विश्वासमा घात गर्नु हुँदैन ।’
प्रचण्ड–बाबुराम क्रान्तिबाट भागेको समयमा नेकपाले श्रमिक वर्गमा क्रान्तिप्रति आशा र विश्वास जगाएको बताउँदै जनता, क्रान्तिको आशा र विश्वास अनुसार राजनीतिलाई सङ्गठनमा रुपान्तरण गरेर क्रान्तिलाई उचाइँमा उठाउनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले दलाल पुँजीवादी व्यवस्थाप्रति कसैको पनि विश्वास नरहेको बताए । संसारमै र नेपालमा पनि अरू नेताबाट भएको प्रतिक्रान्तिभन्दा प्रचण्ड–बाबुराम भट्टराईले कम्युनिस्ट आन्दोलनमाथि गरेको गद्दारी र प्रतिक्रान्ति ठूलो रहेको र नेकपाले नै यसलाई उल्ट्याएर क्रान्ति सम्पन्न गर्ने विश्वास प्रवक्ता प्रकाण्डले व्यक्त गरे ।
‘एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादप्रति हाम्रो पार्टी दृढ छ,’ उनले भने, ‘उनले भने, ‘क्रान्ति आँट, साहस इच्छाशक्ति र बलिदानले आगोसँग खेल्ने कुरा हो । यसका लागि हामी तयार छौँ ।’ पार्टीले चुनावमा भाग नलिने र देशभक्त तथा एमसीसी विरोधीहरूलाई सहयोग गर्नसक्ने उनको भनाइ थियो ।
केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले पार्टी दर्ता गराएर चुनावमा भाग नलिने बताए । आवश्यकता परेमा एमसीसीविरोधी, जनपक्षीय, देशभक्त उम्मेदवारलाई स्वतन्त्ररूपमा समर्थन गर्न सकिने तर अनिवार्य नभएको उनको भनाइ छ ।
‘चुनावमा भाग नलिने, भण्डाफोर गरेर जाने नै प्रधान पहल हो,’ उनले भने, ‘दलाल पुँजीवादविरुद्ध एकीकृत जनक्रान्ति सम्पन्न गर्ने कार्यक्रममा निराशा होइन, आशावादी बनेर जनतामा जानुपर्छ ।’
त्यस्तै सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रतिक्रियावादी सत्ताले गराउने चुनावमा पार्टीले भाग नलिने स्पष्ट पारे । ‘यो प्रतिक्रियावादी चुनावमा हामी भाग लिँदैनौँ । बहिष्कार गछौँ,’ उनले भने, ‘यो व्यवस्थाको प्रतिक्रियावादी चरित्रको भण्डाफोर गछौँ । स्थानीय चुनावमा पार्टीभन्दा बाहिरका स्वतन्त्र उम्मेदवार, एमसीसीमा राष्ट्रघात गर्ने र तिनका मतियारहरूविरुद्ध लड्नेलाई समर्थन गर्न सकिन्छ, गर्नैपर्ने होइन । एमसीसीविरोधीलाई समर्थन गर्ने होइन, गर्न सकिने कुरा मात्र हो ।’
कम्युनिस्टहरू कहिल्यै पनि चुनावविरोधी नहुने प्रष्ट पार्दै नेता कञ्चनले वैज्ञानिक समाजवादभित्र पनि कम्युनिस्ट–कस्युनिस्टबीच प्रतिस्पर्धा हुने प्रष्ट पारे ।
सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ ले क्रान्तिबाट विचलित हुने छुट पार्टी र नेताहरूलाई नभएको बताए । नेता पुनले चुनाव बहिष्कार गर्दै आएको पार्टीमा प्रयोगको कार्यनीति प्रस्तावित हुँदा तरङ्ग उत्पन्न भए पनि पार्टीले चुनावमा नजाने तर देशभक्त, एमसीसीविरोधी शक्तिलाई समर्थन गर्न सकिने निर्णय गरेर वैज्ञानिक बाटो रोजेको प्रष्ट पारे ।







