आगलागी पीडितलाई एमालेले गर्‍यो सहयोग

जनपत्र
१५ चैत्र २०७८, मंगलवार ०८:५६

रामेछाप नगरपालिका-७ मा आगलागी पीडितलाई सहयोग जुट्न थालेको छ। पीडित परिवारलाई नेपाली सेना, राजनीतिक दल, समाजसेवी र रामेछाप नगरपालिकाले नगद, खाद्यान्न र लत्ताकपडाको व्यवस्थापनमा जुटेका हुन्। आगलागी भएको जानकारी पाउने बित्तिकै पुगेका एमालेका नेताहरुले पीडितलाई सहयोग गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

एमाले बागमती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमद्वारा आगलागी पीडितलाई गरेको ६ लाखको सहयोग एमाले रामेछाप अध्यक्ष आनन्द श्रेष्ठले सोमबार हस्तान्तरण गरे। गौतमले ६ लाख बराबरको जस्तापाता, खाद्यान्न, लत्ताकपडालगायतका अत्यावश्यक सामान सहयोग गरेका हुन्। सहयोग हस्तान्तरण गर्दै एमाले रामेछाप अध्यक्ष श्रेष्ठले आगलागीबाट पीडित भएकालाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेका छन् । उनले एमालेले हाल पीडितको घाउमा मलम लगाउन  प्रारम्भिक चरणको राहत प्रदान गरिएको बताउँदै थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले दु:खको घडीमा सहानुभूति प्रकट गर्दै क्षतिको यकिन मूल्याङ्कन गरी पीडितलाई राहत प्रदान गर्नुपर्ने बताए। उनले पीडितको स्थायी समाधानका लागि पार्टीले थप पहल गर्दै सहयोग जुटाउन लागि पर्ने बताए। उनले पीडितलाई सहयोग गर्न सबै एकजुट बन्नुपर्ने बताए। आगलागी पीडितले स्थायी आवास बनाउनका लागि पहल गर्न माग गरेका थिए।

शनिबार दिउँसो विनोद श्रेष्ठको घरमा विद्युत् सर्ट भई लागेको आगो फैलदा ११ घरसहित अन्य ११ वटा गोठ पनि जलेको रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताए। श्रेष्ठको घरमा लागेको आगो चिरञ्जीवी श्रेष्ठ, ठेगबहादुर मगर, हिमाल श्रेष्ठ, एकलाल श्रेष्ठ, दलबहादुर मगर, ईश्वरलाल श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ, शंकर श्रेष्ठ र प्रेमकुमार श्रेष्ठको घरमा पनि फैलिएको थियो। उनीहरू सबैको घर र गोठ जलेको प्रहरी नायव उपरीक्षक थिङले जानकारी दिए।

अन्नपूर्णपोस्ट बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*