त्रिकोणात्मक सिरिज : करण र सन्दीपको उत्कृष्ट बलिङ, पपुवा न्यू गिनीमाथि नेपालको १५ रनको जित
तीव्र गतिका बलर करण केसी र लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा घरेलु टोली नेपालले त्रिकोणात्मक टी२० आई सिरिजअन्तर्गत पहिलो खेलमा पपुवा न्यू गिनीलाई पराजित गरेको छ।
सोमबार सम्पन्न खेलमा नेपालले पाहुना टोली पपुवा न्यू गिनीलाई १५ रनले पराजित गरेको हो। १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्यू गिनी १९।२ ओभरमा अलआउट हुँदै १ सय ६८ रन बनायो।
पपुवा न्यू गिनीका लागि नर्मन भानुआले सर्वाधिक ५२ रन बनाएका थिए। उनले २९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यता, सेसे बाउले २४ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए। यस्तै, चार्ल्स अमिनीले २२, लेगा सियाकाले २१ र चाद सोपरले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले ३र३ विकेट लिए। यता, अभिनास बोहोराले २ तथा सोमपाल कामीले १ विकेट हात पारे।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले आसिफ शेख र रोहितकुमार पौडेलको ८० रनको साझेदारीको मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको थियो।
नेपालका लागि आसिफले सर्वाधिक ४३ रन बनाए। उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यता, रोहितले २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए।
नेपालका ओपनर कुशल भुर्तेल २० रनमा आउट भएका थिए। ११ बलमा ३ चौका र १ छक्का प्रहार गरेका कुशललाई दोस्रो ओभरको तेस्रो बलमा चाद सोपरले रन आउट बनाए।
त्यसअघि इनिङ्सको दोस्रो बलमा उनी रन आउटबाट बचेका थिए। तर, १–२५ को स्थितिमा क्रिजमा आएका रोहितले दोस्रो विकेटका लागि आसिफसँग मिलेर ८० रनको साझेदारी गरे।
त्यसअघि रोहितले व्यक्तिगत २९ रनमा ‘स्लिप’मा क्याच ‘ड्रप’ हुँदा जीवनदान पाएका थिए। आसिफ तीव्र गतिका बलर एली नाओको बलमा ‘एज’ लागेर विकेटकिपर शिमोन आतीबाट क्याच आउट भए।
१३औं ओभरको पहिलो बलमा रोहित चाद सोपरको बलमा विकेटकिपरबाटै क्याच आउट भए। यस्तै, करण केसी १४, कुशल मल्ल ११ रनमा आउट भए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
पपुवा न्यू गिनीका अलेइ नाओ, चाद सोपर र चार्ल्स अमिनीले २र२ विकेट लिए। नर्मन भानुआ र रिले हेकुरेले १र१ विकेट हात पारे।







