नेपाललाई अबकाे ८/१० वर्ष पूर्वाधारकाे क्षेत्रमा लगानी चाहिएकाे छ : गगन थापा

जनपत्र
१३ चैत्र २०७८, आईतवार १९:०६

काठमाण्डाै – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताउनुभएको छ । आज आइतवार १० औँ गैरआवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको आठ/दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताउनुभएको हो । उहाँले नेपालको कृषि बजारमुखी हुने र मानिसहरूलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पार्नुभयो ।

आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब आठ/दश वर्ष हामीलाई पूर्वाधारमा ठूलाे लगानी चाहिएको छ । कनेक्टिभिटी हाम्रो लागि एकदमै ठूलो चुनाैती हो । हामीसँग भएको स्रोत, आन्तरिक स्रोत सम्पूर्ण रूपमा परिचालन गर्दा पनि बाहिरको स्रोत नल्याइकन, बाहिरबाट स्रोत परिचालन नगरिकन पूर्वाधार तयार गर्न गाह्राे छ ।’

कार्यक्रममा महामन्त्री थापाले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताउनुभयो । गैरआवासीय नेपालीहरूको लगानीसँग नेपालीहरू डराउन नहुने उहाँले बताउनुभयो । उनीहरूलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने महामन्त्री थापाकाे भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*